पोखरा / लामो समयको रस्साकस्सी पछि अन्तत: नेपाली काँग्रेसका गण्डकीका प्रदेशसभाका दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल केहीबेर अगाडि गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । नेपालको संविधान ,२०७२ को धारा १६८(५) बमोजिम गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको बताइएको छ । नेपाली काँग्रेस , नेकपा(माओवादी केन्द्र) , राष्ट्रिय जनमोर्चा , जनता समाजवादी पार्टी र मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सभासद राजिव गुरुङ सहित ३१ प्रदेश सभासदको समर्थन जुटाएर गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष मुख्यमन्त्रीको हिजो पोखरेलले दावी पेश गर्नु भएको थियो तर कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका कारवाहीमा परेका सभासद कृष्ण थापा सहित ३० प्रदेश सभासदको समर्थन सहित पुन: मुख्यमन्त्री पदमा दावी पेश गरेको समाचार बाहिर आएसँगै विपक्षी गठबन्धनका प्रदेश सभासदहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिनु भएको थियो । नवनियुक्त मुख्यमन्त्री पोखरेलले ३० दिन भित्र गण्डकी प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संंबैधानिक प्रावधान छ ।
यही जेठ २७ गते नि:बर्तमान मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि नयाँ मुख्यमन्त्री बन्न सक्ने आधार सहितको दावी पेश गर्न प्रदेश प्रमुख पौडेलले प्रदेश सभासदहरुलाई हिजो अपरान्ह ३ बजेसम्मको समय दिनु भएको थियो ।
सबै जसो प्रदेशका मुख्यमन्त्री परिवर्तनको लागि कोशिस हुँदै आएपनि गुरुङ कार्यकाल समाप्त नहुदै बीचैमा मुख्यमन्त्री पदबाट हट्ने पहिलो मुख्यमन्त्री बन्नु भएको छ । हुनत: गुरुङले मुख्यमन्त्री पदमा टिकिरहन सक्ने जति उपाय लगाएर कोशिस नगर्नु भएको भने होइन तर इन्द्रलाल सापकोटा सहितका आफ्नै दलका केही प्रदेश सभासदले मुख्यमन्त्री गुरुङ सो कार्यप्रतिको असन्तुष्टि व्यक्त गर्नुका साथै विपक्षी गठबन्धनको बलियो उपस्थितिले गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको देखिएको छ । गुरुङ नेतृत्वको गण्डकी प्रदेश मन्त्रीपरिषदमा खेलकुद मन्त्री रहेका प्रदेश सभासद राजिब गुरुङ अन्तत: विपक्षी गठबन्धनमा लाग्नु भएको थियो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको गण्डकी प्रदेश सभा बिघटन गर्ने योजनालाई आफूले समर्थन गर्न नसकेर आफूले उनको साथ छाडेको प्रदेश सभासद राजिब गुरुङको भनाई छ ।