काठमाडौं/ आफ्नो देशका नागरिकहरुको खाद्य सुरक्षालाई ध्यानमा राखेर भारत सरकारले चिनी र गहुँ निर्यात बन्द गर्ने निर्णय गरेको छ । रुस र युक्रेन युद्धका बीच युरोपियन देशहरुमा ठूला परिमाणमा गहुँ निर्यात गरेको भारतको चिनी र गहुँ निर्यात बन्द गर्ने निर्णयले धेरै देशमा हलचल मच्चिएको छ । यता भारतको यो निर्णयले नेपाली उद्योगी र व्यापारीहरुमा पनि चिन्ता छाएको देखिएको छ । जसका कारण गहुँको पिठोजन्य उद्योग सञ्चालन गरिरहेका उद्योगीहरुमा उद्योग सञ्चालनमा समस्या उत्पन्न हुने भयले सताएको उद्योगीहरुको भनाई छ । यसले पिठोजन्य उपभोग्य सामाग्रीको बजारमा अभाव बढ्ने र तिनको मुल्य बृद्धि हुन सक्ने सरोकारवालाहरु बताउँछन् । सरकारले उद्योगीहरुका लागि आवश्यक कच्चा पदार्थ सहज ढंगबाट आपूर्तिका लागि सम्बन्धित देशसँग सहजीकरण गर्नु पर्ने उनीहरुको भनाई छ ।
किसानहरुको उखुको बक्यौता भुक्तानी गर्न माग
उद्योगले उत्पादन गरेको चिनी बजारमा विक्री भइरहदापनि पुस/माग महिनामै किसानहरुबाट उधारोमा लिएको चिनी मिलबाट उखुको भुक्तानी अझै नपाएको सर्लाही लगायतका धेरै किसानको गुनासो छ यता चिनी मिलका सञ्चालकहरु भने सरकारबाट सहयोग नपाउदा यो समस्या आएको बताउछन् । सरोकारवालाहरुले भने किसानलाई मिलले दिनु पर्ने उखुको रकम समयमा भुक्तानी गरेर किसानलाई उखु उत्पादनमा लाग्न प्रोत्साहन गर्नु पर्ने र यसका लागि सरकारले किसानहरुलाई आवश्यक सहयोग गर्नु पर्ने खाँचो औंल्याएका छन् ।
रुस- युक्रेन युद्ध थप लम्बिने विश्वका धेरै देशमा खाद्य संकट आउने संयुक्त राष्ट्र संघको चेतावनी
संयुक्त राष्ट्र संघले रुस-युक्रेन युद्ध थप लम्बिए युरोपियन महादेश लगायतका धेरै देशमा खाद्य संकट उत्पन्न हुने चेतावनी दिएको छ । युरोपियन देशमा आयात हुने गहुँ लगायतका बस्तुको ४० प्रतिशत भन्दाबढी हिस्सा रुस र युक्रेनबाट निर्यात हुने गरेको भएपनि बिगत ३ महिनादेखि जारी रुस-युक्रेन युद्ध र रुसमाथि पश्चिमा देशहरुको प्रतिबन्धका कारण रुस र युक्रेनबाट गहुँ र तेलहनजन्य बस्तु निकासी हुन सकेको छैन । जसले गर्दा संसारका धेरै देशमा यी बस्तुको माग बढेर जाँदा मुल्य बृद्धि भएको छ । त्यसैगरी पेट्रोलियम पदार्थको मुल्य बृद्धिले धेरै मानिसहरुको दैनिक जीवन थप कष्टकर बनेको जानकारहरु बताउछन् छ ।