भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारण सभा २०८१ मंसिर २२ गते शनिबार सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता तथा बागमती प्रोस्कूनका सञ्चालक एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.का अध्यक्ष अध्यक्ष कृष्णगोविन्द लाखाजूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

काठमाडौंको चावहिलस्थित ॐ समाज डेण्टलको प्राविधिक सहयोगमा दन्त शिविर समेत सञ्चालन गरिएको उक्त साधारण सभाको प्रमुख अतिथि लाखाजूले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उहाँले सहकारीका शेयर सदस्यहरुको सभालाई साधारण सभा भनेर ऐनमा लेखिएपनि यो साधारण सभा नभई महासभा हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले दक्षिण बाराही महिला साकोसले गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै श्रीलंकाको श्रमिक सहकारीको उदाहरण प्रस्तुती सहित सहकारीको आवश्यकता र महत्व बारेमा प्रकाश पार्नुभयो ।
त्यसै संस्थाकी उपाध्यक्ष शारदा थापाले स्वागत मन्तव्य र सचिव पार्वती घिमिरे भण्डारीले सञ्चालन गरेको साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक धुर्वराज विष्ट , जिल्ला सहकारी संघ लि.,भक्तपुरकी सञ्चालक सरिता थापा, बिघटित डिभिजन सहकारी कार्यालय भक्तपुरका पूर्व कर्मचारी कृष्णबहादुर खड्का र कवि गुरु दाहाल अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.,गाम्चा, भक्तपुरका अध्यक्ष दामोदर न्यौपानेले उक्त संस्थाको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै थप प्रगतिको कामना गर्नुभयो ।
साधारण सभाको अध्यक्षता गर्दै सो संस्थाकी

अध्यक्ष ढुंगेलले समुदायमा बसोबास गर्नुभएका दिदीबहिनीहरुको लागि”महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको लागि दक्षिण बाराही” भन्ने मूल नारा लिई २०५५ चैत्र १ गते डिभिजन सहकारी कार्यालय,भक्तपुरमा विधिवत रुपमा दर्ता भई २५ जना शेयर सदस्यको रु.२,५०० शेयर पूँजीबाट सञ्चालन शुरु भएको यो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा पु-याउदै आएको छ र झोलाबाट शुरु भएको हाम्रो यो संस्थाले शेयर सदस्यहरुको साथ र सहयोगको फलस्वरुप: सूर्यविनायक नगरपालिका-४, दधिकोटमा ३ आना १ पैसा जग्गा खरीद गर्न सफल भएको बताउनुभयो ।



साधारण सभामा त्यसै संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तारा खतिवडा सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सृजना थापा खड्काले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाले संस्थामा १० प्रतिशत शेयर पूँजी बृृद्धि गर्ने लगायतका निर्णय सहित ती प्रतिवेदनहरु पारित ग-यो । प्रतिवेदनहरुमा आर्थिक वर्ष २०८०/०८१ मा शेयर सदस्य संख्या १,२६९ , शेयर पूँजी रु.१,५६,४५,५०० , ऋण लगानी रु.११,६२,९५,५०० ,ऋण असुली रु.१०,५५,८६,१४० र बचत संकलन रु.७,८१,२०,१५९ रहेको र संस्थाले सदस्य जमानीमा विना धितो ३ लाख रुपैयासम्म कर्जा प्रवाह गर्ने गरेको उल्लेख छ
संस्थाकी व्यवस्थापक दीपा क्षत्रीले संयोजनकारी भूमिका निर्वाह गरेको साधारण सभामा संस्थाका जेष्ठ शेयर सदस्य , एकल तथा स्वरोजारगारमूलक कार्य गरिरहेका सदस्यहरु , एसईई (SEE) मा उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण गरेका शेयर सदस्यहरुका छोराछोरी लगायतलाई सम्मान गरियो ।
त्यस संस्थाकी अध्यक्ष ढुंगेलले साधारण सभामा प्रमुख अतिथि लाखाजू सहित विशेष अतिथि, पत्रकार लगायतलाई मायाको चिनो प्रदान गर्नुभयो । साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि.को थिमि शाखा प्रमुख सीता भट्टराई निरौला तथा गाम्चा साकोस, जनता साकोस, घरपरिवार साकोस र छहारी साकोसका प्रतिनिधिको उपस्थिति थियो ।
गत वर्ष झै ॐ समाज डेण्टलका स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा सो साधारण सभामा सम्पन्न दन्त शिविरमा ९० जनाको दात परीक्षण गरिएको बताइएको छ ।






