ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्य खेमनारायण ढुंगानाको अध्यक्षतामा पुष्पलाल विचार प्रवर्द्धन केन्द्र निर्माण गरेको सो पार्टीको यही जेष्ठ ३२ देखि असार २ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि जारी गरेको अन्तर पार्टी निर्देशनमा उल्लेख भएको बताइएको छ । पुष्पलाल विचार प्रवर्द्धन केन्द्रको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, सचिवमा शशि घिमिरे , कोषाध्यक्षमा डा.शम्भु कट्टेल र सदस्यमा रामबहादुर भण्डारी, आशिक राई , शारदा श्रेष्ठ, कृष्णहरि भट्ट र भवानी के.सी. रहनुभएको छ ।
उक्त पार्टीले आउदो फाल्गुणमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ । सो पार्टीसँग नयाँ जनवादी मोर्चाको एकता प्रक्रियामा जोडिएका गंगाराम अधिकारी र हरिप्रसाद घिमिरेलाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी दिएको छ भने त्यसै पार्टीका सचिवालय सदस्य मंगलकृष्ण अमात्य र केन्द्रीय सदस्य कालीदास श्रेष्ठलाई केन्द्रीय समिति सदस्य सहितका सबै जिम्मेवारीबाट हटाएको बताइएको छ ।
उक्त बैठकले उपाध्यक्ष डा.शम्भु कट्टेललाई पार्टीको विदेश विभाग र प्रचार तथा प्रकाशन विभाग प्रमुख र मधेश प्रदेश समितिको सुपरीवेक्षणको जिम्मा तथा सचिवालय सदस्य डा.भगवानचन्द्र ज्ञवालीलाई पार्टी शिक्षा विभाग र बागमती प्रदेश समितिको प्रमुखको जिम्मा दिएको जनाइएको छ । त्यसै पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले पार्टी संगठन निर्माण र जनसंघर्षको कार्यक्रम सम्बन्धी पनि निर्णय गरेको बताइएको छ ।