काठमाडौं/ प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को १०औं महाधिवेशनको मिति नजिकिदै जाँदा सो दलको केन्द्रीय नेतृत्व कस्तो बनाउने बहस पनि चलिरहेको छ । यही मंसीर १०-१२ गतेसम्म चितवनको नारायणगढमा हुने सो महाधिवेशनबाट हालका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्न भइरहेको सो दलका सचिव योगेश भट्टराई लगायतका नेताहरु बताइरहनु भएको छ तर उपाध्यक्ष डा.भीमबहादुर रावलले उक्त महाधिवेशनमा आफू नेकपा(एमाले) को अध्यक्ष पदमा उम्मेद्वारी दिने भनेर आइतबार औपचारिक घोषणा गर्नुभयो , जसले गर्दा १०औं महाधिवेशनबाट नेकपा (एमाले)को सर्वसम्मत अध्यक्ष बन्ने प्रयत्नमा रहेका अध्यक्ष ओलीले त्यस दलको अध्यक्ष पदको लागि पुन: चुनाव लड्नु पर्ने भएको छ । आफू निकटकालाई मात्रै नभएर माधव नेपालको साथ छाडेका तर असन्तुष्ट बनिरहेका नेता-कार्यकर्ताहरु र नेकपा (माके) बाट नेकपा (एमाले) मा आएका नेता-कार्यकर्ताहरुलाई उचित व्यवस्थापन गर्ने चुनौति पनि अध्यक्ष ओली सामू देखिएको छ । बिभाजनको असर भोगिरहेको नेकपा(एमाले) लाई उसको यो १०औं महाधिवेशनले दिने परिणामले उसको भविष्य तय हुने कतिपय विश्लेषकको भनाई छ ।
करिव २ महिना अगाडि नै बिधान महाधिवेशन गरी दस्ताबेजहरुको टुङ्गो लगाएको सो दलले यही मंसीर १० गते नारायणी किनारमा उद्घाटन कार्यक्रम सम्पन्न गरे लगत्तै चुनावी कार्यक्रम शुरु गर्ने जनाएको छ । त्यस उद्घाटन कार्यक्रममा देशभरबाट ५ लाखको संख्या जनप्रदर्शन गर्ने जनाइएको छ । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई बस्नको लागि सौराहाका होटल बुक गरेको त्यहाँका होटल व्यवसायीहरुको भनाई छ ।
यता उक्त दलको १० महाधिबेशनको लोगोलाई लिएर नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) मा मजदुर किसानको खडेरी भएकाले गैंडाले झण्डा बोकेको भनेर टिप्पणी गर्दै आउनु भएको छ ।