नेपाल हस्तकला महासंघ र आईआरजीडीडी बीच समझदारी

नेपालका हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग ( आइआरजीडीडी) बीच नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यबाट २०८२ आषाढ ४ गते बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आपसी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रबिन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्व राजदूत डा.शर्मिला पराजुली ढकालले सो समझ्दारी-पत्रमा हस्ताक्षर गर्नु भएको नेपाल हस्तकला महासंघले आज प्रेस विज्ञप्ती जारी गरि जानकारी दिएको छ ।

उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा महासंघका पदाधिकारीहरु र महानिर्देशक लगायतका कर्मचारीहरुको पनि सहभागिता रहेको सो प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस समझ्दारीबाट नेपालको पहिचान र संस्कृतिको सबांहकको रुपमा रहेको नेपाली हस्तकलालाई विश्वब्यापी ब्राण्डको रुपमा विकास गर्न कुटनीतिक पहल र आवश्यक सहयोग पुग्ने जनाइएको छ । त्यसैगरि नेपाली हस्तकलाको प्रवर्द्धन कलाकार कालिगढहरुको क्षमता विकास अध्ययन, अनुसन्धान र नीतिगत संवादलाई अधिकतम प्रभावकारी बनाइने विषयमा पनि दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ । हस्तकला उद्योग व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र भएकोले यसको अधिकतम् प्रतिफल प्राप्त हुनु पर्ने कुरामा दुबै संस्थाको ऐक्यबद्धता रहेको विषय पनि समझ्दारी-पत्रमा उल्लेख भएको छ । त्यसैगरि हस्तकला क्षेत्रमा सीप र प्रविधिको पुस्तान्तरण चुनौतीपूर्ण रहेकोले यसको सम्बोधनमा पनि दुवै संस्थाले सहकार्य गरि अघि बढ्ने समझदारी भएको छ ।
नेपाली हस्तकला क्षेत्रमा हाल प्रत्यक्ष र परोक्ष गरि ११ लाख व्यक्तिहरु संलग्न रहेका छन् । हाल ३६ विधा अन्तर्गत ८२ प्रकारका हस्तकला वस्तुहरु पहिचान गरिएका छन् । ती वस्तुहरु हाल विश्वका ६० देशमा औपचारिक र अनौपचारिक गरी रु.२२ अरबको हाराहारीमा निर्यात व्यापार भइरहेको छ । सोही रकम बराबरको देशभित्र हुने कारोबार समेत गर्दा यस क्षेत्रले करिब रु.४४ अर्ब रकम बराबरको राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *