प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिदै

नेपाली कांग्रेस, जसपा र लोसपाको समर्थनमा नेपालको संविधान,२०७२ को धारा ७६(२) अनुसार गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको छ । संविधान अनुसार ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने प्रावधान अनुरुप आज प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोसपाले विश्वासको मत दिने भएका छन् भने नेकपा (माके), रास्वपा , नेकपा (एस), राप्रपा, राजमो लगायतले विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले नेकपा (माके) लगायतसँग पनि विश्वासको मत माग्ने बताइएको छ । प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभामा १३८ मत आवश्यक भएपनि दुई तिहाई भन्दा बढी सांसदको समर्थन प्राप्त हुन सक्ने अवस्था बनेको देखिएको छ ।

यता गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको संविधान संशोधन गर्ने सहित ७ बुँदे सहमती प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाको बैठकमा वाचन गर्न लगाउने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

उता राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले]का अध्यक्ष ओलीलाई असंवैधानक तवरबाट प्रधानमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको फैसला नहुँदासम्म प्रधानमन्त्री ओलीको अवस्था के हुने भन्ने अन्यौल भने कायमै रहने जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *