जनता समाजवादी पार्टी, नेपालले सरकार छाडेपछि प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने नैतिक दवावमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ जेष्ठ ७ गते प्रतिनिधि सभाबाट पुन: विश्वासको मत लिनु हुने भएको छ । २०७९ पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माके)का अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाबाट चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले अशोक राई नेतृत्वको जसपालाई काखी च्यापेर आफूलाई अपमानजनक व्यवहार गरेको भन्दै रुष्ट बनेको जनता समाजवादी पार्टी, नेपालले गत बैशाख ३१ गते सरकारबाट बाहिरिएर प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो भने त्यसै दिन सो पार्टीका नेताहरु आफ्ना पार्टीबाट विद्रोह गरेका अशोक राई लगायतका नेता कार्यकर्ताले गठन गरेको जनता समाजवादी पार्टी अवैधानिक ढंगबाट निर्वाचन आयोग, नेपालमा दर्ता गरेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो । यही जेष्ठ २ गते सो मुद्धाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले जसपा दर्ता यथास्थितिमा राख्न निर्वाचन आयोग, नेपालका नाममा अल्पकालीन आदेश जारी गरी दुबै पक्षलाई यही जेष्ठ ९ गते छलफलका लागि बोलाएको छ ।
