प्रभु मेनेजमेण्टबाट सहकारीको रकम फिर्ताका लागि भक्तपुर जिल्ला बचत संघद्वारा पहल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सो संघमा आबद्ध १८ वटा संस्थाहरुको ५२ लाख रुपैया भन्दा बढी रकम प्रभु मेनेजमेण्ट प्रा.लि.बाट यथाशीघ्र रकम फिर्ता गर्न पहल गरेको छ । उक्त संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको नेतृत्वमा बागंलामुखी साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठ, युवा साकोसका व्यवस्थापक विनोद लामिछाने, शंखधर साकोसका व्यवस्थापक राजेन्द्र कायष्ठ लगायतको टोलीले २०८२ जेठ ३० गते शुक्रबार काठमाडौंको बालुवाटारमा रहेको प्रभु मेनेजमेण्ट प्रा.लि.को कार्यालयमै गई सो प्रा.लि.का इञ्चार्ज रामचन्द्र नेपालीलाई यथाशीघ्र रकम फिर्ताको लागि अनुरोध पत्र बुझाएको छ ।
प्रभु मेनेजमेण्ट प्रा.लि.का इञ्चार्ज रामचन्द्र नेपालीले सो पत्र बुझ्दै प्रभु मनिट्रान्सफरले प्रभु मेनेजमेण्टलाई सम्झौता अनुसार भुक्तानी दिनुपर्ने रकम भुक्तानी नहुदाँ सहकारी संस्थाको बचत फिता गर्न नसकेको जानकारी दिनुभयो । उहाँले प्रभु मनिट्रान्सफरसँग रकम भुक्तानीका लागि कानुनी उपचार खोजिदै आएको बाउनुभयो । उहाँले मुद्दा नटुगिएसम्म सहकारी बचत फिर्ता गर्न नसकिने भएकोले मुद्दा नटुगिञ्जेलसम्म पर्खनका लागि अनुरोध गर्नुभयो ।

प्रभु मेनेजमेण्ट प्रा.लि.ले नेपाल भरीमा प्रभु रेमिटको सेवा दिदैं करोडौ बचत तथा धरौटी लिइरहेकोमा विगत २ बर्षदेखि उक्त कम्पनीले सम्झौता अनुसार भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गरेको छैन । कम्पनीले सम्पूर्ण सेवाहरु बन्द गरी सहकारी संस्थालाई दिनुपर्ने रकम भुक्तानी नगर्दा सहकारी संस्थाहरु पीडित हुनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *