ललितपुरको गोदाबारी नगरपालिका-१२ ,ठेचोमा रहेको फ्रेण्ड्स सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. र ललितपुरकै ग्वार्कोस्थित बी एण्ड बी अस्पतालको सहकार्यमा आज चौथो नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भयो । ठेचो-दुरिखेलस्थित श्री सरस्वती उच्च मा.वि.मा सम्पन्न त्यस शिविरमा ६७८ जनाको स्वास्थ्य परीक्षण भएको थियो । त्यस अवसरमा बी एण्ड बी फार्मेसीले विरामीलाई नि:शुल्क औषधि प्रदान गरेको थियो ।
फ्रेण्ड्स सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को समन्वयमा सम्पन्न सोही शिविरमा डा. मिनु सिंहको नेतृत्वमा बी एण्ड बी अस्पतालका डाक्टर , नर्स तथा प्राविधिक सहितको ७० जनाको टोलीले स्वास्थ्य परीक्षणका लागि उक्त शिविरमा आएका महानुभावहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो उक्त शिविरमा हाडजोर्नी , युरोलोजी , जनरल सर्जरी , गाइनो /ओब्स , मुटु (कार्डियोलोजी) , ईसीजी, नाक, कान , घाटी , छाला , नसा , दाँत , जनरल मेडिसिन , रेडिएट्रिक्स , हेपाटोलोजी , इण्डाक्रेम, फिजियो र फार्मेसीको सेवा प्रवाह गरिएको थियो । सोही शिविरमा आज स्वास्थ्य परीक्षण गरिएका व्यक्ति २०७९ मंसिर १७ गतेसम्म स्वास्थ्य उपाचारका लागि बी एण्ड बी अस्पताल गएमा यु.एस.जी. र एक्स रे जाचमा ५० प्रतिशत तथा मेडिसिन , आउट प्यासेन्ट सर्भिस र इनप्यासेन्ट सर्भिसमा १५ प्रतिशत छुट प्रदान गरिने त्यसै शिविरकी इन्चार्ज सिंहको भनाई छ ।
उक्त शिविरमा फ्रेण्ड्स सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.का सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
बिगतदेखि नै ‘हाम्रो यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको थियो तर बीचमा कोभिड-१९ ले गर्दा रोकिएको थियो , यसलाई फेरि आज निरन्तरता दिन हामी सफल भएका छौं’ र आगामी दिनमा यसलाई निरन्तरता दिदै जाने छौं’, फ्रेण्ड्स सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. का अध्यक्ष सुरेन्द्र महर्जनले भन्नुभयो । अलगपथसँग कुरा गर्दै उहाँले स्थानीय समुदायमा आधारित हाम्रो यस संस्थाको वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो ।
आज सो स्वास्थ्य शिविर सञ्चालन भएको श्री सरस्वती उच्च मा.वि.मा आफैले १३ वर्ष अगाडि निर्माण गरेको मञ्चको पुन:निर्माण, ठेचोमा बस स्ट्याण्डमा यात्रु प्रतिक्षालय निर्माण जस्ता सामाजिक कार्य गर्दै आएको फ्रेण्ड्स सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.ले ललितपुरकै धापाखेल दोबाटोमा रहेको आफ्नो ४ आना २ पैसा जग्गामा कार्यालय ४ तले भवन निर्माण गरिरहेको सोही संस्थाका लेखा अधिकृत राजेन्द्र महर्जनले बताउनुभयो । अलगपथसँग कुरा गर्दै उहाँले हाम्रो यस संस्थाले कुप कार्ड बनाएर लागू गर्ने योजना छ भने यस संस्थाको आफ्नै एटीएम (ATM) सञ्चालन गर्ने सोचाई पनि रहेको छ’, भन्नुभयो । हाल त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण सेवाका अतिरिक्त मोवाइल बैंकिङ , एस.एम.एस. बैंकिङ तथा प्रभु रेमिट , सम्सरा रेमिट , आईएमई रेमिट , ई-सेवा , वेष्टर्न युनियन रेमिट , सिटी एक्सप्रेस , हिमाल रेमिट , रिलायबल रेमिट र जीएमई रेमिट सेवा प्रवाह गरिरहेको छ । त्यस संस्थाको गत श्रावण मसान्तसम्म शेयर संख्या ३,८०५, शेयर पूँजी रु.४,६६,६५,८०० , निक्षेप संकलन रु.४७,५५,२७,०४० , कर्जा लगानी रु.३५,४७,२९,५०६ र कुल कारोवार रु.५६,८४,२३,५८२ रहेको लेखा अधिकृत महर्जनको भनाई छ ।