ललितपुरको गोदावरी नगरपालिका-१२, ठेचोमा आफ्नै भवनबाट सञ्चालन भइरहेको फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.ले २०८१ जेष्ठ २६ गते शनिबार नि:शुल्क खुल्ला स्वास्थ्य शिविर आयोजना गर्न लागेको जनाएको छ । ठेचोस्थित श्री सरस्वती मा.वि.को प्राङ्गणमा बी एण्ड बी हस्पिटल , ग्वार्कोसँगको सहकार्यमा विहान ९ बजेदेखि दिउसो ४ बजेसम्म सो शिविर सञ्चालन हुने आयोजक फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.का अध्यक्ष नन्द गोपाल महर्जनले बताउनुभयो । विगतका वर्षहरुमा झै यस वर्ष पनि संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यो शिविर आयोजना गर्न लागेको उहाँले बताउनुभयो । यो संस्थाले आफ्ना शेयर सदस्यहरु बीच बचत र ऋण कारोबारसँँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । सो संस्थाले श्री सरस्वती मा.वि. ठेचोमा मञ्च र ठेचोकै भैरवस्थान तथा बुद्धपोखरीस्थित मुख्य सडकमा फ्रेण्ड्स प्रतिक्षालय निर्माण गरेको छ ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यो संस्थामा तरलता २७ प्रतिशत , शेयर सदस्य संख्या ४,०१३, शेयर पूजी रु.४,८७,७७,५००, जगेडा तथा अन्य कोष रु.३,२७,२०,८७६/५१, बचत रु.४५,८७,९७,५६६/८०, ऋण लगानी रु.३७,०३,०४,४८६/८३ र कुल कारोबार रु.५४,२१,५२,१८६/३४ रहेको सोही संस्थाका बरिष्ठ लेखा अधिकृत राजेन्द्र महर्जनले बताउनुभयो ।