बलम्बु च्याउ सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न, अमरदीप सिंह अध्यक्षमा पुन चयन

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा केन्द्रीय कार्यालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा सर्वसम्मतीका साथ पुन: अमरदीप सिंह महर्जनको अध्यक्षतामा सञ्चालक समिति र पुष्कर महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरि २०८१ पुस २७ गते शनिबार बलम्बुको क्वाथः मैदानमा सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुजिन्द्र महर्जन , कोषाध्यक्षमा प्रदीप महर्जन र सदस्यमा धर्मेन्द्र महर्जन , राम महर्जन र दानबहादुर महर्जन तथा लेेखा सुपरीवेक्षण समिति सदस्यमा जीतबहादुर महर्जन र मिलन श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसै संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभाको बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकाश श्रेष्ठले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री श्रेष्ठले चन्द्रागिरि नगरपालिका भित्र प्राङ्गारिक मल कारखाना ख‍ोल्न बागमती प्रदेश सरकार , कृषि तथा पशुपंछी विकास मन्त्रालयमा सहयोगको लागि प्रपोजल पेश गर्न चन्द्रागिरि नगरपालिकालाई आग्रह गर्दै त्यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किसानको संख्या बढिरहेको छ तर व्यवसाय घटिरहेको छ भन्दै थोरै जमिनमा उत्पादन गर्न सकिने हिलटेक प्रणाली अवलम्वन गरि च्याउ खेती गर्नु पर्नेमा जोड दिनुभयो । आफ्नो नेतृत्वको बागमती प्रदेश, कृषि तथा पशुपंछी विकास मन्त्रालयले अगाडि सारेका कार्यक्रमहरु बारेमा चर्चा गर्दै उहाँले बलम्बु च्याउ सहकारी संस्थाले च्याउको अचार बनाएर बजारीकरण गर्ने भनेर यो संस्थाका अध्यक्षले भनेको कुरा राम्रो छ’, भन्नुभयो । उहाँले बागमती प्रदेश, कृषि तथा पशुपंछी विकास मन्त्रालयसँग सहकार्य गर्ने गरि च्याउको प्रवर्द्धनका लागि मन्त्रालयमा प्रपोजल पेश गर्न बलम्बु च्याउ सहकारी संस्था लि.लाई आग्रह गर्नुभयो ।

साधारण सभामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा.महेशकुमार अधिकारीले सो संस्थाले च्याउको प्रवर्द्धन र विकासमा सफलता हासिल गर्दै थप प्रगति गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष महर्जनले २८ जना च्याउ कृषकबाट २०६५ चैत्र १ गतेबाट विधिवत रुपमा कारोबार शुरु गरेको यस संस्थाको १६औं वार्षिक साधारण सभासम्म आइपुग्दा २,००३ जना महिला, १,९८८ जना पुरुष र अन्य १८ गरी ४,०१० जना शेयर सदस्य आबद्ध भइसकेको बताउनुभयो । उहाँले ‘ हाम्रो यो संस्था सहकारीको सिद्धान्त व्यबहारमा लागू हुने गरि सहकारीको मूल उद्देश्य र भावनामा टेकेर समुदायमा आधारित भई सहकारी शिक्षा शिविर, गोष्ठी, अन्तरक्रिया जस्ता सदस्य केन्द्रित कार्यक्रम तय गरि राम्रोसँग सञ्चालन भइरहेको छ’, भन्नुभयो । उहाँले यस संस्थाले च्याउ उत्पादन , प्रवर्द्धन र च्याउको अध्ययन अनुसन्धानमूलक कार्यमा विशेष जोड दिएको बताउदै उहाँले च्याउको अचार बनाएर बजारीकरण गर्ने यस संस्थाको योजना रहेको बताउनुभयो ।

साधारण सभामा त्यसै संस्थाका सचिव सुजिन्द्र महर्जनले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रदीप महर्जनले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक पुष्कर महर्जनले संस्थाको लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरियो । पारित भएका ती प्रतिवेदनमा उक्त संस्थामा आ.व.२०८०/०८१ मा शेयर पूजी रु.४,३१,१७,०००, निक्षेप संकलन रु.५६,०७,८५,७८३.८० , ऋण लगानी रु.५६,०४,१२,८७२..८५ , जगेडा कोषमा रु.१,६३,६९,८४२.२६ , अन्य कोषमा रु.१,५०,९७,७९८.१६ र खुद नाफा (बचत) रु.२२,३३०५०.३७ रहेको उल्लेख छ ।

संस्थाकी महिला उप-समिति सदस्य राजमाया महर्जनले स्वागत मन्तव्य र प्रबन्धक ज्ञानदास महर्जनले सञ्चालन गरेको साधारण सभामा त्यसै संस्थाका निवर्तमान सञ्चालक बुद्ध महर्जनलाई कदरपत्र सहित सम्मान गरियो । यसैगरी साधारण सभामा नाय् खिँ बाजा खल: , महालक्ष्मी कहाँ बाजा खल: , बलम्बु धा बाजा खल: , भास्तिपुर धिमे खल: , भास्तिपुर ज्ञानमाला भजन खल: , ग्वे स्वाँ बासुरी खल: , सिन्ह स्वाँ दाफा खल: , नास: बाजा खल: र गुर्जुधारा भजन मण्डललाई सम्मान गरियो । साधारण सभामा त्यसै संंस्थाका शेयर सदस्यद्वय लक्ष्मीबहादुर महर्जन र हिरादेवी महर्जनलाई असल बचत सदस्य सम्मान, शेयर सदस्यद्वय सानू मैंया रोक्का र सुस्मिता धिमाललाई असल ऋणी सदस्य सम्मान , शेयर सदस्य दीपेन्द्र बखतीलाई असल शेयर सदस्य सम्मान , बिगत २ वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरी च्याउ खेती तथा च्याउ क्षेत्रको विकास गर्न पु-याएको अतुलनीय योगदानको कदर गरी शेयर सदस्य बुद्ध महर्जनलाई युवा उद्यमी सम्मान र कर्मचारी सरस्वती महर्जनलाई उत्कृष्ट कर्मचारी सम्मान २०८०/०८१ बाट तथा संस्थामा गरेको कारोबारबाट संरक्षित पूँजी फिर्ता कोषको आधारमा बचततर्फ उत्कृष्ट ५ बचतकर्ता सदस्यहरु सुशिला महर्जन, संजय श्रेष्ठ, श्यामकृष्ण महर्जन, मथ्यासिं महर्जन र काञ्छी श्रेष्ठ तथा संस्थामा गरेको कारोबारबाट संरक्षित पूँजी फिर्ता कोषको आधारमा ५ उत्कृष्ट ऋणी सदस्यहरु मनोजकुमार श्रेष्ठ, नारायण धिताल, प्रदीप महर्जन, चिरञ्जीवी महर्जन र विशाल बिडारीलाई सम्मान गर्नुका साथै विरामी भएर उपचाररत त्यसै संस्थाकी शेयर सदस्य अञ्जली श्रेष्ठलाई उपचारका लागि रु.५०,००० आर्थिक सहयोग गरियो ।

साधारण सभाबाट लक्की ड्र मार्फत त्यस संस्थाका ३ जना शेयर सदस्य ३ दिने कालिञ्चोक भ्रमणका लागि छनौट भए ।

यस अघि उक्त संस्थाको १६औं वार्षिक साधारण सभा कार्यक्रम अन्तर्गत २०८१ पौष २० गते शनिबार मकवानपुरको थाहा नगरपालिका- ६ स्थित सम्बृद्ध सेवा केन्द्रमा सांसद महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा इकाई सभा सम्पन्न भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि

बर्तौलाले यो संस्था आफ्नो उद्देश्य अनुरुपको कार्य गर्न सफल होस भनी कामना गर्नुभएको थियो ।

उक्त सभाको अध्यक्षता सोही संस्थाका अध्यक्ष अमरदिप सिंह महर्जनले गर्नुभएको थियो । त्यसै सभामा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु लगायतलाई स्वागत गर्दै सम्बृद्ध सेवा केन्द्रका संयोजक कल्पना बलामीले सेवा केन्द्रको प्रगति विवरण सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *