ललितपुर/ बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोगमा ३ दिवसीय सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भयो । बागमती प्रदेश सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप-समितिका संयोजक जगतलाल महर्जनको अध्यक्षतामा सम्पन्न उक्त तालिमको समापनका अवसरमा मन्तव्य व्यक्त गर्दै बागमती प्रदेश सहकारी महाशाखाका रजिष्टार नारायणप्रसाद ज्ञवालीले सहकारीलाई मर्यादित र व्यवस्थित ढंगबाट अगाडि बढाउन यो तालिमबाट सिकेको ज्ञान र सीप महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले यस तालिममा आफ्नो महत्वपूर्ण समय प्रदान गर्नु भएकोमा अतिथिहरु, प्रशिक्षकहरु तथा सहभागीहरुमा आभार प्रकट गर्दै यो तालिमबाट प्राप्त गरेको सीप र ज्ञान तालिममा सहभागीहरुले आ-आफ्नो संघमा लागू गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले सहकारी आयकर बृद्धि गर्ने निर्णय फिर्ता लिन र सहकारी संस्थाबाट कर्जा प्रवाह हुँदा मालपोत दृष्टिबन्धकी शुल्कमा अत्याधिक बृद्धि भएकोले त्यसलाई घटाएर सहकारी ऐन,२०७४ अनुसार कायम गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यस तालिममा सहकारी प्रशिक्षकहरु नवकुमार अधिकारी , तेजप्रसाद बजगाईँ र महेन्द्र भटृराई तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहजीकरण गर्नुभयो । तालिमका सहभागीहरुले यो तालिम प्रभावकारी भएको बताउनुभयो । सोही तालिममा सहभागीहरुलाई पृरमाण-प्रदान गरिएको थियो ।
यही जेठ २६ गते बिहीबार राष्ट्रिय सहकारी महासंघ लि.की बरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले उद्घाटन गर्नुभयो । सोही तालिममा २९ जनाको सहभागिता रहेको थियो ।
यता यही शुक्रबार बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेको नेतृत्वमा सहकारी प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेललाई भेटी सहकारी कर्जा प्रवाह गर्दा मालपोत दृष्टिबन्धकी शुल्कमा अत्याधिक बृद्धि भएकोले त्यसलाई घटाएर सहकारी ऐन,२०७४ अनुरुप कायम गर्न माग गरेको छ । त्यस अवसरमा मुख्यमन्त्री पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री जम्मरकट्टेलले त्यसलाई सकारात्मक ढंगबाट परिवर्तन गर्न प्रतिबद्धता व्यक्त गरेको सो संघले जनाएको छ । उक्त प्रतिनिधि मण्डलमा दुग्ध सहकारी केन्द्रीय संघका महासचिव राम आचार्य तथा बागमती प्रोस्कूनका अध्यक्ष उद्दव सापकोटा, महासचिव जिवसराज खड्का, सञ्चालक ईन्द्र घिमिरे र प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालको सहभागिता रहेको जनाइएको छ ।