भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उप-समितिको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा दुई दिवसीय सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम होटेल सिटी गाँउको सभाहल, भाटढिकुरमा २०८१ माघ ८ र ९ गते सम्पन्न भयो । सो तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरिकृष्ण बल्लले सहकारी मुल्य र मान्यता विपरीत जारी भएको सहकारी अध्यादेशको विरोधमा यो संघ रहेको बताउनुभयो । उहाँले अध्यादेश सदस्य केन्द्रित समुदायका सहकारी संस्थाको अहितमा रहेको बताउदै सहकारी पीडितहरुको माग बचत फिर्ता हो, अध्यादेश नभएको स्पष्ट पार्नुभ यो ।उहाँले सहकारीमा ठगी गरेका व्यक्तिहरुलाई बचाउन या संरक्षण दिने गरीे अध्यादेश जारी भएको भन्दै विरोध गर्नुभयो ।
कार्यक्रममा सोही संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा दायित्वको जोखिम सहकारीको छविसँग समेत जोडिने भएकोले सहकारीले भुक्तानी गर्नुपर्ने छोटो र लामो अवधिका दायित्वको उचित व्यवस्थापनका लागि सम्पत्ति दायित्व व्यवस्थापन तालिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हाल जारी भएको सहकारी अध्यादेशको विरोध गर्न सक्छौ तर कानुन पालना गर्दैनौं भन्न नमिल्ने भएकोले अध्यादेश अनुसार संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि अभ्यासको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी उक्त संघका उप-समिति सदस्य चण्डिका छुकांले संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापन तालिमबाट सिकेका ज्ञान र सीप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा त्यसै सघका उपसमिति सदस्य विकुलाल सुवालले सहभागीहरुलाई धन्यवाद मन्तव्य दिनुभयो ।
तालिममा प्रशिक्षक श्याम राजा तिमल्सिनाले संस्थाको स्रोत र स्रोतको परिचालनमा ध्यान दिनुपर्ने कुराहरु, वित्तीय विश्लेषण, सम्पत्ति दायित्वको संचित फरक गणना, सम्पत्ति दायित्वको व्यवस्थापनका नीतिगत व्यवस्था लगायतका विषयमा सहजिकरण गर्नुभयो । तालिमबाट सिकेका कुराहरुको निरन्तर अभ्यास गर्नुपर्ने उहाँको भनाइ थियो ।
तालिममा सहभागीहरुले सैद्धान्तिक, नीतिगत तथा प्रयोगात्मक सहितको सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो ।

तालिममा सो संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा बरिष्ठ कर्मचारीहरु गरी २४ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन उक्त संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो । त्यस अवसरमा तालिममा सहभागीहरुलाई प्रमनण-पत्र प्रदान गरियो ।

