भक्तपुर जिल्ला बचत संघको आयोजनामा रणनीति योजना निर्माण तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय रणानीति योजना निर्माण तालिम २०८२ बैशाख २७ गते रोयल थाई हस्पिटालिटी, राधेराधे, भक्तपुरमा सम्पन्न भयो ।

उक्त तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरिकृष्ण बल्लले हाल परिवर्तित ऐन, निर्देशन तथा मापदण्डलाई ध्यानमा राखी रणानीति योजना बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारी संस्थार्लेै महत्वकांक्षी योजना र अरुको नक्कल तथा प्रतिस्पर्धाले समस्या ल्याउने हुँदा सहकारी संस्थाको वस्तुस्थितिलाई बुझेर मात्र रणनीति योजना तय गर्नुपर्ने उहाँको भनाई थियो ।
यसैगरी सोही संघका कोषाध्यक्ष एवं अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका संयोजक

काञ्छाभक्त घजुले सहकारी संस्थाले तय गर्ने रणनीति योजनाको सफलता नै सहकारी संस्था सफलताको आधार भएको बताउनुभयो । उहाँले रणनीतिक योजनाको त्रैमासिक समीक्षा गर्दै समय परिस्थिति अनुसार योजनाहरु अद्यावधि गर्दै लानुपर्ने आवश्यकता औल्याउनुभयो ।
यस्तै उक्त संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले बजारमा लगानीको वातावरणा नभएकोले समुदायमा आधारित सहकारी संस्थाहरुमा तरलता बृद्धिले अधिक तरलतामा संस्था सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले लगानी गरेका साँवा तथा व्याज असुलीमा सकस भई भाखा नाघेको ऋण बढदै गइरहेको बताउनुभयो । सहकारी संस्थाले रणनीति योजना निर्माण गर्दा आर्थिक पक्षलाई मात्र ध्यान नदिई गुणस्तरीय सदस्यता, सेवा र सुशासनका पक्षमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
यसैगरी सोही उपसमितिका सदस्य राजकुमार लघुले तालिममा सहभागीहरुलाई धन्यावाद दिर्दै तालिमबाट सिकेका कुराहरु संस्थामा लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का लेखा अधिकृत सरोज गणेशले तालिममा सहजीकरण गर्नु भएको थियो ।

तालिममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सदस्य संस्थाहरुबाट २० जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रमको सञ्चालन सो संघका अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका सदस्य राजाराम गोसाईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *