यात्रुबाहक बस दुर्घटनाका कारण भएको मानवीय क्षतिले मादी र आसपासको क्षेत्र स्तब्ध

चैनपुर / आज बिहान संखुवासभाको मादी नगरपालिका-६, पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनाका कारण भएको मानवीय क्षतिले सिङ्गो मादी नगरपालिका तथा आसपासको क्षेत्र स्तब्ध भएको छ । त्यस दुर्घटनामा परी घाइते भएका पाँचै जना मादी नगरपालिका वडा नं.४,५ र ६ का स्थानीयबासी हुन् । उक्त दुर्घटनामा परी बसका चालक र सह-चालक सहित मृत्यु भएका १४ जना ५ वर्ष उमेरदेखि ६० वर्ष उमेरसम्मका छन् । मृत्यु भएका १४ जनामध्ये ११ जना मादी नगरपालिका वडा नं. २,४,५ र ६ का स्थानीयबासी छन् भने तीमध्ये १ जना बसका चालक ३१ वर्षीय तेह्रथुमको फाक्चामाराका विपिन निरौला तथा ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन र उनका ८ वर्षीय छोरा सुदीप घिसिङ रहेको बताइएको छ ।

आज बिहान ६:४५ बजेतिर मादीको ओखरबोटेबाट इटहरीका लागि हिडेको बा ४ ख ७३५ नं.को यात्रुबाहक बस ओखरबोटेबाट छुटेको २० मिनेट पनि नबित्तै पुलुङकोथ सात घुम्तीको सडकबाट करिव ३०० मीटर जति तल खस्दा सो बसका चालक सहित १४ जनाको ज्यान गयो भने ५ जना घाइते भए । घाइतेहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगियो । सबै मृतकको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा पोष्ट मार्टमका लागि लगिएको थियो ।

उक्त बस दुर्घटना भएको थाहा पाए लगत्तै मादी नगरपालिकाका मेयर विदुर लिङ्तेप सहितका जनप्रतिनिधि , स्थानीयबासी तथा सुरक्षाकर्मीहरु बस दुर्घटनास्थलमा पुगेका थिए । बस पल्टिएको स्थान अलि अफ्ठ्यारो स्थानमा भएपनि सुरक्षाकर्मी र स्थानीयबासीहरुले मिलेर बसमा सवार ५ जना घाइतेको जीवितै उद्दार गरेका थिए । यसैगरी उनीहरुले सबै मृतकहरुको शव बसबाट निकालेर सडकका ल्याएका थिए । बसमा सवार घाइते र मृतकको शव देख्ता त्यहाँ पुगेका सबैका आँखा रसाएका थिए भने मादी नगरपालिकाका मेयर लिङ्थेपका आँखाभरी आँशु बगिरहेको देखिन्यो ।

सो घटनाप्रति नेकपा (एमाले) का १ नं. प्रदेश कमिटीका अध्यक्ष तथा १ नं.का प्रदेश सभासद तुलशीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका नेता दीपक खड्का , नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य अर्जुन कार्की लगायतले दु:ख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply