युरोकप-२०२४ को उपाधि स्पेनले जित्दा इङ्ल्याण्ड पुन: निराश

जर्मनीमा सम्पन्न १७औँ संस्करणको युरोकप-२०२४ को उपाधि स्पेनले जितेसँगै इङ्ल्याण्ड पुन: निराश भएको छ भने सन् १९६४, २००८ र २०१२ पछि स्पेनले चौथो पटक यो उपाधि चुम्न सफल भएको छ । सन् १९६६ को विश्वकप फुटकलको उपाधि उचालेको इङ्ल्याण्डले त्यसयताको कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन । यस अघि पनि आफ्नै घरेलु मैदानमा सम्पन्न १६औँ संस्करणको यरोकप फुटबलको फाइनल खेलको ट्राईब्रेकरमा इटालीबाट पराजित भएर इङ्ल्याण्ड स्तब्ध भएको थियो ।

गएराती बर्लिनमा सम्पन्न युरोकप फुटबल-२०२४ को फाइनल खेल जित्ने लक्षका साथ मैदान प्रवेश गरेको इङ्ल्याण्ड सामू स्पेन तगारो बन्दा ऊ निराश भएर घर फर्किन विवश भयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाप ग‍ोलरहित बराबरीमा सकिएको थियो तर खेलको ४७औँ मिनेटमा स्पेनका कान्छा खेलाडी लामिन यमालको पासमा निको विलियम्सले गोल गरि स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ७०औँ मिनेटमा सब्सिच्युट खेलाडीको रुपमा मैदान छिरेका इङ्ल्याण्डका कोल पाल्मरले जुङ बलिङ्घमको पासमा गोल गरि इङ्ल्याण्डलाई बराबरीमा पु-याए पनि खेलको ८६औँ मिनेटमा स्पेनका मार्क कुकुरेलाको पासमा मिकेल ओयरजबालले गोल गरि पुन: स्पेनलाई अग्रता दिलाए । त्यसपछि खेलमा इङ्ल्याण्डले गोल गर्न गरेको कोसिस विफल भएको थियो ।

लामिन यमाल उत्कृष्ट युवा खेलाडी

यो प्रतिय‍ोगितामा १ गोल र ४ असिष्ट गरेका स्पेनका १७ वर्षीय लामिन यमाल प्रतिय‍ोगिताका उत्कृष्ट युवा खेलाडी पुुुरस्कारबाट सम्मानित भए भने स्पेनकै रोड्री प्लेयर अफ द टुर्नामेण्टबाट सम्मानित भए । प्रतियोगितामा ३ गोल गरेका स्पेनका ड्यानी ओल्मो सहित ६ खेलाडीलाई उच्च गोलकर्ता ट्रफीबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *