अध्यक्ष ओलीलाई पुन: प्रधानमन्त्रीका लागि अघि सारेर चुनाव होमिदै एमाले

नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई नै पुन: प्रधानमन्त्रीका लागि अगाडि सारेर होमिने भएको छ । तालमेल/गठबन्धनका लागि पनि ढोका खुला राखेर उक्त चुनावमा होमिने योजना साथ नेकपा (एमाले) अगाडि बढेको उक्त पार्टीका नेताहरुको भनाई छ । यही शनिबार च्यासलमा सम्पन्न त्यस पार्टीको केन्द्रीय कमिटीको बैठकले सोही निर्वाचनका लागि आवश्यक रणनीति र योजना बनाएर अगाडि बढ्नै र सोही पार्टीका अध्यक्ष ओलीको नेतृत्वमा चुनावी घोषणा-पत्रको मस्योदा र उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा जन/वर्गीय संगठनका अध्यक्ष र महासचिव सहितका पार्टीका नेताहरु रहेको ३४ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय निर्माण गरेको बताइएको छ । सो पार्टीका क्षेत्रीय समन्वय समितिले यही भदौ २२ गतेसम्ममा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वारको नाम छनौट गरी माथि पठाउने उक्त बैठकले निर्णय गरेको जनाइएको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा मा महानगरपालिकाका प्रमुख नजिते पनि देशभरका स्थानीय तहमा चुनाव जित्ने र मत पाउने पार्टीमा नेकपा (एमाले) पहिलो दल बनेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपत्रमा सबै भन्दा अगाडि उक्त पार्टीको चुनाव चिन्ह सूर्य रहने निर्वाचन आयोगले सार्वजनिक गरी सकेको छ ।

Leave a Reply