काठमाडौ/ नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार केशव स्थापित अभिव्यक्तिको घेरामा पर्नु भएको छ । आफ्ना अभिव्यक्तिका कारण बेलाबेलामा चर्चाको केन्द्रमा रहदै आउनु भएका स्थापित मिटु अभियानको तारो बन्नु भएको छ । मिटुको आरोप लागेका स्थापितले गत हप्ता काठमाडौंको एक कलेजमा भएको कार्यक्रमकी एक जना सहभागीको मिटु बारेको प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिको विषयलाई लिएर यतिबेला चर्चा चलिरहेको छ । यही विषयलाई लिएर स्थापितको विरुद्धमा निर्वाचन आयोगमा उजुरी परेपछि निर्वाचन आयोगले सो विषयमा सोमबार स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको जनाएको छ ।
जतिबेलासम्म केशव स्थापित बागमती प्रदेश सभा सदस्य हुनुहुन्थ्यो, त्यो बेलासम्म उहाँमाथिको मिटुको आरोपको खासै चर्चा भएको थिएन । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत बनिसकेका काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर पदमा पुन: उम्मेद्वार बनाएपछि उहाँमाथि मिटुको आरोपको समाचार सञ्चार माध्यममा भाइरल भयो । स्थापितले काठमाडौं महानगरपालिकाको मेयर हुँदा १८ वर्ष अगाडि सोही महानगरपालिकाका कर्मचारीद्वय रश्मिला प्रजापती र उज्वला महर्जन माथि यौन हिंसा गरेको आरोपको समाचार चर्चित बन्यो । पीडित भनिएकी उज्वला महर्जनको यसबारेमा के भनाई छ , त्यो त थाहा हुन सकेको छैन तर अर्की पीडित भनिएकी रश्मिला प्रजापतीले भने २०६० सालमा स्थापितले आफूमाथि यौन हिंसाजन्य क्रियाकलाप गरेको भनी दिएको अभिव्यक्ति सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रजापतीले अभिव्यक्ति दिने क्रममा स्थापितबाट आफू मात्र नभई अरु महिलाहरु पनि यौन हिंसाको शिकार भएको बताउनु भएपनि उहाँले त्यसलाई पुष्टि गर्न सक्ने भरपर्दो आधार भने प्रस्तुत गरेको देखिएको छैन । यता स्थापितले आफू माथि लागेको उक्त आरोपको खण्डन गर्दै आउनुभएको छ भने नेकपा (एमाले)का नेता कार्यकर्ताहरुले चुनावको मुखमा स्थापित माथि सुनियोजित ढंगबाट मिथ्या आरोप लगाएको भनेर त्यसको विरोध गरिरहेका छन्। कतिपय सरोकारवालाहरु भन्छन्- “स्थापितले कसैमाथि यौन हिंसाजन्य क्रियकलाप गरेको प्रमाणित हुन सक्ने तथ्य भए त्यसलाई अगाडि ल्याउनु परो , जसले निज दण्डित हुने अवस्था निर्माण हुन सकोस् तर यदी होइन भने निर्वाचनको मुखमा कसैमाथि आधारहिन आरोप लगाउनु भएन ।”
२०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयर बनेका स्थापितले त्यसबेला सम्झनलायक केही काम गर्नुभएको थियो । केशव स्थापित बोल्ने पनि र काम पनि गर्ने मान्छे भएकोले कहिलेकाही उहाँका अभिव्यक्तिमा त्रुटी हुन पनि सक्छन् , स्थापित जत्तिको मान्छेले बोल्दा त्रुटी भए त्रुटीलाई सच्याउनुपर्छ ‘, उहाँका समकालीन राजनीतिकर्मीहरु बताउछन् । गतिशील र केही न केही काम गरेर देखाउनुपर्छ भनेर सधै काममा लागिरहने स्थापितको स्वभाव रहेको कतिपय जानकारहरुको भनाई छ ।
स्थापितसँगै काठमाडौं महानगरपालिकाको मेयर पदमा ५ दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ , विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा र स्वतन्त्र उम्मेद्वार बालेन शाह लगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । स्थापित , सिंह, श्रेष्ठ, बास्कोटा र शाहको पक्षमा बन्दै गएको माहोलले काठमाडौ महानगरपालिकाको निर्वाचन थप रोचक बन्दै गएको देखिएको छ ।