काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी सम्झौताको विरोधमा नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज आह्वान गरेको नेपाल बन्द देशभक्त नेपाली जनताले समर्थन गरेकाले सफल भएको भन्दै यो नेपाल बन्द सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नु भएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ६ पार्टी र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्द सहित एमसीसी सम्झौताको विरोधमा भएका संघर्षका क्रममा सुरक्षाकर्मीद्धारा पक्राउ गरेका सबैलाई तुरुन्त रिहा गर्न सरकारसँग अनुरोध गर्नु भयो । उहाँले ६ दल र २ मोर्चाको आह्वानमा भएका एमसीसी सम्झौता विरोधी संघर्षका क्रममा सुरक्षाकर्मीहरुको दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको राज्यले नि:शुल्क उपचार गर्न माग गर्नुभयो । अध्यक्ष कट्टेलले एमसीसी सम्झौता अनुमोदन गरेर संसदवादी दलहरुले पुन: राष्ट्रघात गरेको बताउनुभयो । उहाँले एमसीसी सम्झौताको विरोधमा संघर्ष गर्ने र संसदमा सो सम्झौताको विपक्षमा मतदान गर्ने सांसदहरुलाई धन्यबाद दिनुभयो ।
नेकपा (एमाले) का सांसदहरुले गरेको वेल घेराउ र नाराबाजीका बीच सरकारको १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित ध्वनि मतको आधार बहुमत सांसदले समर्थन गरी संसदबाट उक्त सम्झौता अनुमोदन गर्दा नेकपा (एमाले)का सांसदद्वय डा. भीम रावल र झपट रावल , राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त्यस सम्झौताको विपक्षमा हात उठाउनु भएको थियो । यसैगरी नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनालले एमसीसी सम्झौताको सैद्धान्तिक छलफलमा भाग लिदै एमसीसी सम्झौता राष्ट्रको हितमा नभएकोले यसलाई खारेज गर्नु पर्ने बताउनु भएको थियो । सोही छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले ‘एमसीसी सम्झौता अनुमोदनका क्रममा ल्याइएको १२ बुँदे व्याख्यात्मक टिप्पणी केही नेताहरुको तल खसेको जुङ्गा माथि उठाउन ल्याइएको तर यसको अर्थ छैन’ भन्नुभएको थियो ।
अध्यक्ष कट्टेलले एमसीसी सम्झौता अनुमोदन गर्ने क्रममा सरकारले ल्याएको १२ बुँदे व्याख्यात्मक टिप्पणी जनताको आँखाको धूलो छर्न ल्याइएको जाली कुरा मात्रै भएको बताउनुभयो । राष्ट्रघाती एमसीसी सम्झौता सहित नेपालको राष्ट्रिय हितमा अशर गर्ने सबै सन्धि सम्झौताको खारेजी , भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताको लागि सहित राष्ट्रिय स्वाधिनताको निम्ति नेपाल कम्युनिष्ट पार्टीले निरन्तर संघष गर्ने उहाँको भनाई छ ।