- अर्जुन कार्की
काठमाडौं/ नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं सुप्रशिद्ध साहित्यकार वी.पी. कोइरालाको ४०औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली कांग्रेस तथा नेपाली कांग्रेस (वीपी) का नेता , कार्यकर्ता लगायतले उहाँको योगदानको स्मरण गरिरहेका छन् । नेपाली राजनीतिमा वीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नामले परिचित उहाँलाई साहित्य क्षेत्रका विभिन्न व्यक्ति तथा संघ/ संस्थाहरुले स्मरण गरेको देखिएको छ ।
वि.स.१९७१ साल भदौ २४ गते जन्मिएका वी.पी. कोइरालालाई नेपाली कांग्रेस भित्र भने महामानव भन्ने गरेको पाइन्छ । पिता कृष्णप्रसाद कोइरालाको प्रेरणाले राजनीतिमा लागेका वी.पी. कोइरालाले नेपाली कांग्रेस निर्माणमा महत्वपूर्ण योगदान गरेको देखिन्छ । १०४ वर्षीय जहानीया राणा शासनको अन्तको निम्ति भएका संघर्ष र क्रान्तिमा उहाँको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । वि.सं.२००७ सालको राजनीतिक परिवर्तन पछि राजा, राणा र कांग्रेसको सहमतीमा बनेको मोहन शमशेर नेतृत्वको सरकारमा वी.पी. कोइराला गृह मन्त्री बन्नुभएको थियो भने उहाँ वि.सं.२०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबेला त्यो सरकारले अग्रगामी कार्य गर्नुका साथै नेपाल र चीन बीचको सीमा समस्या समाधान गरेको इतिहासका जानकारहरु बताउछन् । तत्कालीन चिनीया सरकारसँग सुमधुर सम्बन्ध बनाएपछि त्यसबेलाको भारतीय सरकार वीपी कोइराला नेतृत्वको नेपाल सरकारसँग रुष्ट बनेको र उसैको सहयोगमा तत्कालीन राजा महेन्द्र शाहले वि.सं. २०१७ साल पुष १ गते अपदस्त गरेपछि उहाँ नेपाली कांग्रेसका सहित १० जना नेताहरुलाई काठमाडौंको सुन्दरीजल जेलमा ८ वर्षसम्म राखिएको थियो । ८ वर्षको सुन्दरीजल जेल बसाईपछि वि.सं.२०२५ सालमा जेलबाट छुटेपछि उहाँ सहयात्री सहित भारत प्रवासमा जानु भएको थियो र त्यहाँ पनि उहाँहरुले प्रजातन्त्र पुन:स्थापनाको निम्ति संघर्ष गर्नु भएको थियो । ८ वर्षको भारत प्रवास बसाईपछि वि.सं.३३ पुष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर राजासँग आफ्नो गला जोडिएको भन्दै उहाँ सहयात्रीका साथ स्वदेश फर्किनु भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले वीपी कोइरालालाई नेपालको रक्षा र परराष्ट्रको अधिकार भारतलाई दिन र त्यो बापत तपाईलाई जीवनभर प्रधानमन्त्री बनाउने भनेर प्रस्ताब राख्दा त्यसलाई उहाँले अस्वीकार गरेपछि उहाँहरु माथि भारत सरकारको दमन हुन थालेपछि राष्ट्रिय मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किनु भएको पत्रकार जगत नेपालको पुस्तक ‘वीपी विद्रोह’मा उल्लेख छ । प्रजातन्त्र पुनर्बहालीको लागि संघर्ष गर्दागर्दै क्यान्सरबाट वि.सं.२०३९ साउन ६ गते उहाँ अस्ताउनुभयो ।
वीपी कोइराला नेपालका वामपन्थी शक्तिसँग भन्दा दरबारसँग नजिक बन्न खोजेका कारण त्यसबेलाको नेपाली कांग्रेस र वामपन्थी शक्तिहरु वीच सहकार्य हुन नसकेको र त्यही कारण राजाको शासन लम्बिएको कतिपय मानिसहरु बताउछन् ।
नेपाली राजनीतिमा झै नेपाली साहित्यमा पनि उचाई हासिल गर्नु भएका वीपी कोइरालाले नेपाली साहित्यको कथा विधामा ‘चन्द्रवदन’ कथा मार्फत मनोविज्ञान प्रवेश गराउनु भएको देखिन्छ । आफूलाई नेपाली राजनीतिमा समाजवादी र नेपाली साहित्यमा अराजकतावादी बताउने वीपी कोइरालाका साहित्यिक रचना/कृतिहरु मनोविज्ञान र त्यसमा पनि उहाँका अदिकांश रचनामा यौन मनोविज्ञानमा आधारित रहनुका साथै ‘नरेन्द्रदाइ’ उपन्यास जस्ता कतिपय साहित्यिक रचनामा अस्तित्ववाद देखिएको छ । हिन्दी भाषाका कथा, कवितामा पनि थोरबहुत कलम चलाउनुभएका उहाँका ‘दोषी चस्मा’ र ‘स्वेतभैरवी’ कथासंग्रह , ‘तीनघुम्ती’ , ‘नरेन्द्रदाइ’ , ‘सुम्निमा’ , ‘ मोदी आइन’ र ‘हिटलर र यहुदी’ , ‘बाबु आमा र छोरा’ उपन्यास तथा जेल जर्नल , ‘आत्मबृतान्त’, :मेरो कथा’ जस्ता रचना प्रकाशित छन् ।
साहित्यिक क्षेत्रका कतिपय मानिसले वीपी कोइराला नेपाली राजनीतिमा एक/दुई वर्ष बाच्लान् तर उनी नेपाली साहितृयमा कम्तीमा हजार बर्ष बाच्ने बताएको पनि सुनिएको छ ।