आरबी भण्डारीलाई उपाध्यक्ष चयन गर्दै नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं / बरिष्ठ नेता रामबहादुर भण्डारीलाई उपाध्यक्षमा चयन गर्दै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । यही फागुन २१ गतेदेखि काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा बसेको सो बैठकले अध्यक्ष ऋषि कट्टेल, उपाध्यक्ष रामबहादुर भण्डारी तथा केन्द्रीय समिति सदस्यहरु हरिदेव ज्ञवाली , रत्नप्रसाद जोशी , राजेश बान्तवा , खेमनारायण ढुंगाना , कृष्णहरि भट्ट, एम.के.ए., सत्यनारायण मुखिया , शशिकला घिमिरे , शारदा श्रेष्ठ, सतिलाल चौधरी , रविन्द्र कोइराला , विपत्ति मण्डल, राजकुमार थापा र अर्जुनकुमार कार्कीलाई केन्द्रीय सचिवालय सदस्य पदमा चयन गरेको छ । त्यसैगरी बैठकले शर्मिलाकुमारी मुखिया , मनिष भट्टराई, उत्सुक कट्टेल , निल गगन र निराजन रिजाललाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र कार्यालय सचिव रत्नप्रसाद जोशीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको त्यस बैठकले पार्टीको आगामी कार्य योजना पारित गरेको छ । त्यस बैठकले निम्नानुसारको समसामयिक प्रस्तावहरु पास गरेको छ ।
१. छ दल र दुई मोर्चा र नेपाली स्वाधीनताप्रेमी जनताद्वारा लामो समयदेखि सञ्चालन गरिएको एमसीसी (MCC) सम्झौता खारेजी आन्दोलन तथा सशक्त प्रतिवादका बाबजुद शेरबहादुर गठबन्धन सरकारले
षड्यन्त्रमूलक ढंगले रातविरात गरिएको लज्जास्पद व्याख्यात्मक टिप्पणीको घोषण गर्दै कथित
रुपमा पारित गरिएको भनिएको एमसीसी सम्झौता पास गर्ने निर्णयको पूर्ण रुपमा खारेजीको जोडदार
माग गर्दछ । यो आन्दोलनमा आफ्नो आवाजलाई सशक्त रुपमा उठाउनु हुने सबै पार्टी पङ्ती
र देशभक्त शक्तिहरुप्रति सम्मान प्रकट गर्दछ । राजबन्दीहरुको रिहाईको माग गर्दछ ।
घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र उनीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गर्दछ ।
२. नेपालको संविधान विपरित कथित रुपमा पास गरिएको एमसीसी सम्झौताका कारण नेपाल असंलग्न
परराष्ट्र नीतिबाट हटेर अमेरिकी साम्राज्यवादको कठपुतली बन्न पुगेको छ । जसका कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक क्रिडास्थल बन्नेछ । यसका विरुद्ध रहेका साम्राज्यवाद विरोधी शक्तिहरु एकजुट भई राष्ट्रिय स्वाधीनताको रक्षाको संघर्षमा उत्रन आह्वान गर्दछ ।

३. बर्तमान सामन्ती, दलाल तथा नोकरशाही पूँजीवादी राज्यव्यवस्था पूर्णतः असफल भएको छ ।
यसका सरकार, संसद र अदालत समेत नचलेका दृष्टान्तहरुले यसको पुष्टि गर्दछ । यसको विकल्पमा नयाँ राज्यसत्ताको निर्माण अनिवार्य बनेको छ ।
४. नेपाली जनताको मुक्ति संघर्षमा होमिएका क्रान्तिकारी कम्युनिष्टहरुलाई संयुक्त जनसंघर्ष र जनआन्दोलन विकासका लागि एकतावद्ध हुन आह्वान गर्दछ ।
५. कालापानी क्षेत्र लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्रमा भारतीय विस्तारवादी सत्ताले गरेको सीमा अतिक्रमणले नेपालको स्वाधीनतामा गम्भीर आँच पुगेको छ । राष्ट्रिय अखण्डता संकटमा परेको छ । तुरुन्त नेपालको भूमि फिर्ता गर्न र नेपाली भूमिमा नेपाली प्रशासनको स्थापना गर्न
जोडदार माग गर्दछ । राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तहरुलाई एक हुन आह्वान गर्दछ ।
६. पेट्रोलियम पदार्थमा गरिएको अच्चाक्ली मुल्यबृद्धि, शिक्षा स्वास्थ्यमा गरिएको मुल्यबृद्धि लगायत जनताका दैन्यदिनका उपभोग्य बस्तुहरुमा गरिएको मुल्यबृद्धि तुरुन्त रोक्न जोडदार माग गर्दछ ।
७. महिला माथि हुनै सबै प्रकारका विभेद, हत्या, हिंसा र बालत्कार जस्ता अमानवीय र घृणित कार्यहरु तुरुन्त रोक्न र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न जोडदार माग गर्दछ ।
८. सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गर्दछ ।

९. युक्रेनी जनताको आत्मनिर्णयको अधिकार विरुद्ध हुने गरी युक्रेनी सत्ताका कारण भएको युद्धको विरोध गर्दछ र उनीहरुको अधिकारको रक्षाको लागि आग्रह गर्दै तत्काल युद्धलाई रोकी वार्ताबाट समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *