जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजिनामा दिनुभएको छ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि राजिनामा दिने मनस्थितिमा पुगेका यादवले आज बस्न लागेको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नु अगावै मन्त्री पद त्यागेको जनाइएको छ । मधेश प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्री विरुद्ध नेकपा (एमाले), नेकपा (माके), जनमत पार्टी र लोसपाको नयाँ गठबन्धन बनेपछि उहाँ रुष्ट बन्नुभएको थियो । नेकपा (एमाले), नेकपा (माके) लगायतका सत्ता गठबन्धनमा रहेका दलहरुले काखमा राखेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल माथि घात गरेको कतिपय राजनीतिक विश्लेषकहरु बताउछन् ।
अध्यक्ष यादव उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहेर संयुक्त राष्ट्र संघले आयोजना गरेको जनसंख्या सम्बन्धी कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका गएको बेलामा अघिल्लो हप्ता जनता समाजवादी पार्टी,नेपालका बरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ जना सांसद र केन्द्रीय कार्यकारिणी समितिका ८ जना सदस्यलाई लिएर अलग्गै जसपा निर्माण गरिएको थियो । निर्वाचन आयोग, नेपालले पनि अशोक राईको नेतृत्वमा बनेको नया दल जसपा दर्ताका लागि निवेदन दर्ता भएको भोलिपल्टै सो पार्टी दर्ता गरि जनता समाजवादी पार्टी,नेपालबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले २१ दिन सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएर हस्ताक्षर सनाखत गरेर नयाँ जसपामा जान सक्ने सूचना जारी गरेको थियो । निर्वावन आयोग, नेपालको यो कार्य कानुन विपरित रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवको भनाइ छ ।