जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सत्यनारायण मुखियाले नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षबाट ऋषि कट्टेललाई हटाएको भनिएको विज्ञप्तिमा आफ्नो नामञ्जुरीमा आफ्नो हस्ताक्षर स्क्यानिङ गरेर दुरुपयोग गरेको भन्दै त्यहप्रति आफ्नो असहमती रहेको बताउनुभएको छ । ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष पदबाट हटाएको भनी गत पुसको अन्तिम साता सोही पार्टीका उपाध्यक्ष लोकनारायण सुबेदी सहित ८ जना केन्द्रीय सचिवालय सदस्यले हस्ताक्षर गरी जारी गरेको भनिएको विज्ञप्तिमा नेता मुखियाको पनि नाम र हस्ताक्षर थियो तर त्यो हस्ताक्षर आफ्नो सहमतीमा राखिएको हैन भनी विरोध गरी नेता मुखियाले विज्ञप्ति जारी गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफूलाई आफ्नो पार्टी भित्र नेता कार्यकर्ताहरुको साथ र समर्थन रहेको भन्ने भनाई तथ्यपरक रहेको देखिएको छ भने उपाध्यक्ष लोकनारायण सुवेदी पक्षले पार्टी भित्र आफूहरु बहुमतमा रहेको भनेर गरेको दाबीमा सत्यता देखिएको छैन ।
सो पार्टीको हाल कायम रहेको १५ सदस्यीय केन्द्रीय सचिवालयमा ८ जना अध्यक्ष कट्टेलको पक्षमा देखिएका छन् भने उक्त पार्टीको ५१ सदस्यीय केन्द्रीय समितिमा पनि ३५ जना भन्दा बढी केन्द्रीय सदस्यको साथ र समर्थन अध्यक्ष कट्टेलकै पक्षमा रहेको देखिएको छ । जसका कारण उपाध्यक्ष लोकनारायण सुवेदी पक्ष निकै कमजोर देखिएको छ ।
नेपालमा गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएकोले गणतन्त्रको विरोध गर्नेहरुसँग सहकार्य गर्दा शहीदहरु प्रति अपमान हुन्छ भनेर उक्त पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्षले गणतन्त्रको विरोध गर्नेहरुसँग सहकार्य नगर्ने नीति लिएपछि त्यसबाट असन्तुष्ट बनेको त्यसै पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी पक्ष भने एमसीसी सम्झौताको विरोध गर्ने नाममा गणतन्त्र विरोधीहरु समेत रहेको मोर्चामा सहभागी भएको छ ।
पार्टी भित्र गुठबन्दी गरेको, आर्थिक अपचलन गरेको लगायतका ४ वटा आरोप सहित अभियोग लागेपछि गत पुस २६ गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले त्यसै पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई सम्पूर्ण जिम्मेवारी सहित सदस्य समेतबाट निलम्बन गरी त्यसको जाँचबुझ गर्न सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेश बान्तवा को अध्यक्षतामा केन्द्रीय सचिवालय सदस्यद्वय रामबहादुर भण्डारी र हरिदेव ज्ञवाली सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो । त्यो आयोगले आफ्नो किम गरिरहेको जनाएको छ । यता सो पार्टीका अध्यक्ष कट्टेलले भने जाँचबुझ आयोगले प्रतिवेदन बुझाउनासाथ केन्द्रीय समितिको बैठक बसाएर आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।