काठमाडौं/ नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्झौताको विरोध छाडेर पार्टी काममा लाग्न आफ्ना नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । गत हप्ता आफ्नो पार्टी भित्रका ९७ जनालाई पार्टीको केन्द्रीय समितिमा मनोनयन गरेका अध्यक्ष प्रचण्डले १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर देशलाई दुर्घटना हुनबाट आफूले बचाउन सफल भएको बताउदै आउनु भएको छ ।
यसैगरी नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई चुनावसम्म एमसीसीकै विरोध छाडेर चुनाव केन्द्रित गतिविधिमा लाग्न निर्देशन दिनु भएको जानकारी प्राप्त भएको छ । सोही पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर विरोधीहरुको आक्रमणबाट आफ्नो पार्टीलाई बचाएको र दुर्घटना हुनबाट गठबन्धन सरकारलाई जोगाउन सफल भएको बताउनु भएको थियो ।
संसदबाट १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित एमसीसी (MCC) सम्झौता पारित भएपछि नेकपा (माके) र नेकपा (एस) भित्र त्यसको विरोध भइरहेको छ । त्यही कारण ती दलहरु भित्रका कतिपय नेता कार्यकर्ताहरुले आफू रहेको दल त्याग्ने क्रम पनि चलेको देखिएको छ ।
राजमो पुन: सत्ता गठबन्धनमा सामेल
एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि सत्ता गठबन्धनबाट अलगिएको घोषणा गरेको हप्ता दिन नबित्दै राष्ट्रिय जनमोर्चा पुन: सत्ता गठबन्धनमा सामेल भएको छ । सो मोर्चाको केन्द्रीय समितिको बैठकले पुन: राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा सामेल हुने निर्णय गरेको त्यसै मोर्चाका महासचिव मनोज भट्टको भनाई ।
५ दलीय सत्ता गठबन्धनको सहयोगमा उक्त मोर्चाले राष्ट्रिय सभाको गत माघ १२ गते सम्पन्न निर्वाचनमा आफ्ना १ जना उम्मेद्वारलाई जिताउन सफल भएको थियो भने स्थानीय तह सहितको आगामी निर्वाचनलाई दृष्टिगत गरी यो मोर्चा सत्ता गठबन्धनमा पुन: सामेल भएको जानकारहरु बताउछन् । ५ दलीय सत्ता गठबन्धनमा सामेल भएसँगै नेकपा (मसाल) सहित उक्त मोर्चा विभाजन भई सोही पार्टीका नेता सन्तबहादुर नेपालीको नेकपा (मसाल) समन्वय समिति गठन भएको छ ।
चुनावमा ५ दलीय गठबन्धन बनाउने प्रयास
नेकपा (माके) , नेकपा (एस) लगायतका सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले आगामी स्थानीय चुनाव सहितका तीनै तहको निर्वाचनमा गठबन्धन बनाउने प्रयास गरिरहेको बताइएको छ तर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने यस बारेमा आफ्नो केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको बैठकको निर्णय बेगर केही गर्न नसकिने सोही पार्टीका उपसभापति पूर्णबहादुर खड्काको भनाई छ । सोही पार्टीका नेता रामचन्द्र पौडेलले भने आफ्नो कमजोर रहेको स्थानमा सत्ता गठबन्धनमा सामेल जुन दलको अवस्था बलियो भएको स्थानमा सम्बन्धित दलसँग तालमेल गर्न सकिने अभिव्यक्ति दिनु भएको छ ।