काठमाडौं/ १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित संसदबाट एमसीसी(MCC) सम्झौता पारित भएपनि सो सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै आज काठमाडौंमा ६ कम्युनिष्ट पार्टी र २ मार्चाले विरोध -याली सहित विशाल विरोध सभा गर्ने भएका छन् । एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै आज दिउसो १२ बजे काठमाडौंको दरबारमार्ग, माइतीघर मण्डला र त्रिपुरेश्वर तथा ललितपुरको कुपण्डोल भएर आएको जुलुस काठमाडौंको सुन्धारा हुदै खुल्लामञ्चमा पुगेपछि विरोध सभामा परिणत हुने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्कीले अलगपथलाई बताउनुभयो । सभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव’ , नेकपा (क्रान्तिकारी माओवादी)का महसचिव किरण’, नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी., वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुति, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल , नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीका साथै पूर्व प्रधानमन्त्री तथा नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनाल , नेकपा (एमाले)का नेता डा. भीम रावल, नेकपा (माके) का नेता नारायणकाजी श्रेष्ठ लगायतले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीको भनाई छ ।

एमसीसी सम्झौता राष्ट्रघाती भएकोले यसलाई खारेज गर्नु पर्ने माग ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले संयुक्त संघर्ष गर्दै आएका छन् ।
यही फागुन १५ गते नागरिकहरुको विरोधका बाबजुद १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित संसदबाट उक्त सम्झौता पारित भएपनि त्यसप्रति नागरिकहरुले विरोध गरिरहेका छन् । जसका कारण त्यो सम्झौता पारित गर्ने दलका नेता र सांसदहरु नागरिकहरुको विरोधको निशानामा परेको देखिएको छ । ‘संसदबाट एमसीसी सम्झौता पारित गर्न ल्याइएको १२ बुँदे व्याख्यात्मक टिप्पणी नेपाली जनताको आँखामा छारो हाल्ने प्रपञ्च र आफ्नो नाङ्गो शरीर छोप्ने टालो मात्रै भएकोले यसको कुनै अर्थ छैन’, जानकारहरु बताउछन्