काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रघाती एमसीसी (MCC) सम्झौता कार्यान्वयन गर्ने नाममा अमेरिका नेपालमा आएमा ऊसँगै आतंकवाद पनि भित्रिने खतरा रहेको बताउनु भएको छ । यही फागुन १५ गते नागरिकहरुको व्यापक विरोधका बाबजुद संसदबाट एमसीसी सम्झौता पारित भएको विरोधमा शुक्रबार ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले संयुक्त रुपमा काठमाडौंको खुल्ला मञ्चमा आयोजना गरेको विशाल विरोध सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले एमसीसी सम्झौतासँगै संसदबाट पारित भएको भनिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी जनताको आँखामा छारो हाल्न गरिएको षडयन्त्र मात्रै भएको भन्दै एमसीसी सम्झौता राष्ट्रघाती भएकोले यसको खारेजीको लागि देशभक्त जनताले लड्नु पर्ने खाँचो औंल्याउनुभयो । सोही सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालको इतिहासमा पुस १ गते जस्तै गरी राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको दिन फागुन १५ गते कालो दिन भएको बताउनुभयो । उहाँले ‘राष्ट्रघाती एमसीसी सम्झौता नेपाली जनताबाट अनुमोदन नभएकोले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तथा ६ कम्युनिष्ट पार्टी र २ मोर्चा रहेसम्म यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन दिइने छैन’, भन्नुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ को अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले सञ्चालन गर्नु भएको त्यस सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी., देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुति , नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी , नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकी र घाइते, बेपत्ता तथा शहीद परिवार समाजकी अध्यक्ष खुमा सुवेदीले एमसीसी लागू भएका देशहरुमा एमसीसीले गरेको बद्मासीका कारण कतै जनताले, कतै सेनाले र कतै सरकारले विद्रोह गरेर एमसीसीलाई लखेटेको दृश्टान्त प्रस्तुत गर्दै हिन्द प्रशान्त अमेरिकी सैन्य रणनीतिको अंग बनेको एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेज हुनु पर्ने आवश्यकता औंल्याउनुभयो ।
उक्त सभा शुरु हुनु अगाडि राजधानीका विभिन्न स्थानबाट निस्किएका एमसीसी सम्झौता विरोधी जुलुस खुल्ला मञ्चमा प्रवेश गरेका थिए ।
२०७८ फागुन २० गते शुक्रबारदेखि २०७८ चैत्र ६ गतेसम्म एमसीसी सम्झौताको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले पहिलो चरणको संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । जस अनुसार २०७८ फागुन २२ गते विहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान , कमलादीमा बुद्धिजीवीहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।