काठमाडौं/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडुले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु-याएको योगदानको चर्चा गर्नु भएको थियो ।
२०४८ सालबाट पटक- पटक प्रधानमन्त्री बन्नु भएका नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको थियो । २०६२/०६३ सालको ऐतिहासिक जन-आन्दोलन र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँको योगदान महत्वपूर्ण रहेको जानकारहरु बताउछन् । २०४८ सालदेखि २०५८ सालसम्मको समयमा आफूले गरेका कतिपय कार्यका कारण गिरिजाप्रसाद कोइराला धेरै आलोचित बन्नुभएको थियो तर त्यसपछिका राजनीतिक क्रियाकलापले भने उहाँको राजनीतिक उचाई ह्वात्तै बढाएको कतिपय जानकारहरुको भनाई छ ।
यता कतिपय विद्वानहरु भने नेपालमा नयाँ विश्वविद्यालय स्थापना गर्नु पूर्व सञ्चालनमा रहेका विश्वविद्यालयलाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड दिएका छन् । विश्वविद्यालय खोल्ने भन्दा पहिला विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार र मापदण्डको पहिला विकास गर्नु पर्ने उनीहरुको भनाई ।