काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहभागिताको विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भित्र अन्तर्विरोध तीव्र रुपमा बढेको देखिएको छ । यसले सो पार्टी विभाजनको दिशातर्फ अगाडि बढेको संकेत गरेको कतिपय जानकारहरु बताउछन् । उक्त पार्टीका महासचिव चन्द , सचिवालय सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेता कार्यकर्ताहरु स्थानीय तहको चुनावमा सहभागी भएर देशभक्त उम्मेद्वारहरुलाई जिताउनु पक्षमा रहेको बताइएको छ । यसैक्रममा सो पार्टीका प्रवक्ता विश्वकर्मा सहितको टोली बिहीबार स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन आयोगमा गएको थियो । प्रवक्ता विश्वकर्माले स्थानीय तहको चुनावमा सहभागी हुने विषयमा एमसीसी सम्झौताको विरोधमा सहयात्रा गरिरहेका दलहरुसँग छलफल भइरहेको बताउनु भएको छ तर उक्त पार्टीका नेता धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली लगायतले भने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी सहभागी हुने नीति नरहेको भन्दै त्यसको विरोध गर्नु भएको छ । यसबाट सो पार्टी भित्र अन्तर्विरोध तीव्र रुपमा बढेको देखिएको छ । यसलाई ठीक ढंगबाट व्यवस्थापन हुन सकेन भने उक्त पार्टी विभाजन हुनबाट बच्न सक्ने अवस्था देखिदैन ।
यही महिनाको ६ गतेदेखि कपिलवस्तुको शिवगढीमा सम्पन्न त्यस पार्टीको केन्द्रीय समितिको बैठकमा महासचिव चन्दले स्थानीय तहको चुनावम पार्टीले भाग लिनु पर्ने प्रस्ताव प्रस्तुत गर्नु भएको र बैठकमा सो प्रस्तावको पक्षमा २४ जना र विपक्षमा ४४ जना केन्द्रीय सदस्य उभिएपछि चुनावमा भाग पनि नलिने र चुनावलाई सक्रिय बहिस्कार पनि नगर्ने मध्यमार्गी नीति तय गरेको बताइएको थियो ।