काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच गठबन्धन गरेर जाने र गठबन्धन गर्न हुदैन भन्ने विचार नेपाली कांग्रेस भित्र छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरु स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच गठबन्धन गरेर जानु पर्ने पक्षमा देखिनु भएको छ भने उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा सहितका नेताहरु गठबन्धन नगरी नेपाली कांग्रेस एक्लै चुनावमा भाग लिनु पर्ने पक्षमा हुनुहुन्छ । ‘घर-घर जाऔं- कांग्रेसलाई जिताऔं’ भन्ने नाराका साथ सो पार्टी स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय उपसभापति गुरुङ नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहालको विरोधमा खनिनु भएको छ । जसका नेकपा (माके)का दाहाल र नेपाली कांग्रेसका उपहभापति गुरुङ बीच वाकयुद्ध शुरु भएको छ । पछिल्लो समय विकसित घटनाक्रम हेर्दा भने नेपाली कांग्रेस एक्लै नभई सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच स्थानीय तहको चुनावमा गठबन्धन गरेर जान सक्ने संकेत देखिन थालेको छ ।
यता नेकपा (माके), नेकपा (एस) र जसपाका नेताहरु भने सबै तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरु बीच गठबन्धन गरेर जानु पर्ने बताइरहनु भएको छ ।