झापाका पुराना कम्युनिष्ट नेता कालिदास श्रेष्ठ नेकपा प्रवेश

दमक/ झापाका पुराना कम्युनिष्ट नेता कालिदास श्रेष्ठ आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले स्वागत गर्नुभयो । त्यस अवसरमा अध्यक्ष कट्टेलले नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा कालिदास श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएकोमा बधाई ज्ञापन गर्दै उहाँबाट नेपालको कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कम्युनिष्ट नेता कालिदास श्रेष्ठले आफू नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको घोषणा गर्दै नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन आफूले सकेको योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यत्रय कृष्णहरि भट्ट , रविन्द्र कोइराला र सतिलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएका कालिदास श्रेष्ठ नेकपा (माले) र पछि नेकपा (एकीकृत)को केन्द्रीय सदस्य बन्नुभएको थियो । त्यस अगाडि उहाँ नेकपा (एमाले)को मेची अञ्चल कमिटी सदस्य हुनुहुन्थ्यो । पछिल्लो समय भने उहाँ स्वतन्त्र वामपन्थीको रुपमा रहनु भएको थियो ।

ढुङ्गानाको नेतृत्वमा नेकपाको गण्डकी प्रदेश समिति गठन

आज नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश समितिको बैठक सम्पन्न भएको छ । सोही पार्टीका उपाध्यक्ष तथा गण्डकी प्रदेश समिति इञ्चार्ज आर.बी. भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य खेमनारायण ढुङ्गानाको संयोजकत्वमा सो पार्टीको गण्डकी प्रदेश समिति निर्माण गरेको जनाइएको छ । त्यसै समितिको सदस्यमा भक्ति शर्मा वाग्ले , उत्सुक कट्टेल , निश्चल कट्टेल लगायत रहनु भएको छ ।

Leave a Reply