नवनिर्वाचित उप-सभामुख भुसालद्वारा पद बहाली

काठमाडौं/ नवनिर्वाचित उप-सभामुख पुष्पा भुसाल गौतमले आइतबारबाट पद बहाली गर्नु भएको छ ‌‌। आइतबार नै उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन , शीतल निवासमा मा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ‌।

यही शुक्रबार प्रतिनिधि सभामा सम्पन्न उप-सभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी तत्कालीन सचेतक भुसालले १४८ मत प्राप्त गरी विजयी हुनुभएको थियो ‌‌‌‌‌भने उहाँकी निकतम प्रतिद्वन्दी नेकपा (एमाले)की सांसद विद्या भट्टराईले ९३ मत प्राप्त गर्नु भएको थियो ।

यस अगाडि नेकपा (एमाले)को तर्फबाट निर्वाचित उप-सभामुख शिवमाया तुम्बाहाम्फे उप-सभामुख पदबाट राजिनामा दिएर पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि लामो समयदेखि उप-सभामुख पद रिक्त थियो ।

भुसालले उप-सभामुख पद बहाली गरेसँगै संबैधानिक परिषदमा महिलाको प्रतिनिधित्व भएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष पद अझै रिक्त

राष्ट्रिय सभाको उपाध्यक्ष पद पनि अझै रिक्त छ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको ४ वर्षे कार्यकाल सकिएसँगै गत फागुनदेखि सो पद रिक्त छ ‌‌।

नेपालको संविधान,२०७२ मा प्रतिनिधि सभाको सभामुख र उप-सभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक-फरक दलका सांसदहरु मध्येबाट हुनु पर्ने व्यवस्था छ । यस अखाडि राष्ट्रिय सभाका अध्यक्षमा नेकपा (एमाले)का सांसद गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा नेकपा (माके)की सांसद शशिकला दाहाल निर्वाचित हुनु भएको थियो ।

Leave a Reply