काठमाडौं/ निर्वाचन आयोगले ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता प्रदान गरेको जनाएको छ । यही बुधबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले गत पुस १७- १९ मा जनकपुरमा सम्पन्न सो पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा चयन हुनु भएका कट्टेलको नेतृत्वमा रहेको उक्त पार्टीले कानुन बमोजिम बुझाउनु पर्ने आवश्यक कागजात निर्वाचन आयोगमा समयमा पेश गरेकाले उसलाई आधिकारिकता प्रदान गरेको जनाइएको छ । त्यस आयोगले सोही पार्टीका तत्कालीन उपाध्यक्ष लोकनारायण सुवेदीले नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन पनि नभएको र यस पार्टीले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष सहित पार्टीको सदस्यता समेतबाट हटाएर आफूलाई कार्यबहाक अध्यक्ष बनाएकोले आफू नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता प्रदान गर्न माग गरी निर्वाचन आयोगमा निवेदन दिनु भएको भएपनि आफूले मागेका आवश्यक कागजात उहाँले यस आयोगमा पेश गर्न नसकेको र नेपाल कम्युनिष्ट पार्टीको विधानमा कार्यबहाक अध्यक्षको व्यवस्था पनि नभएकोले लोकनारायण सुवेदीले दिनु भएको उक्त निवेदन खारेज गरेको जनाएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने गरी ७९ वटा दललाई कानुनी मान्यता प्रदान गरेको जनाएको छ ।
तीमध्ये ६ वटा राजनीतिक दलले मात्रै आफ्नो चुनाव चिन्ह बाट चुनावमा भाग लिन पाउने निर्वाचन आयोगको भनाई छ । निर्वाचन आयोगमा भने जम्मा १११ वटा दल दर्ता रहेको बताइएको छ ।
उता यही फागुन २१ र २२ गते बसेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले सोही पार्टीका नेतात्रय लोकनारायण सुवेदी, शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई पार्टीको हित विपरीत कार्य गरेको ठहर गरी उक्त पार्टीको सदस्य समेत नरहने गरी निश्कासन गरेको थियो ।