काठमाडौं/ नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले यतिबेला निर्वाचन आयोग जालझेल र षडयन्त्रको अखडा बनेको अनुभूति भएको बताउनु भएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय , कपन , काठमाडौंमा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै उहाँले ‘केही समययताका निर्वाचन आयोगका कतिपय कार्य संविधान, ऐन , कानुन र नियमको आधारमा नभई जालझेलको आधारमा भएको तथ्यले पुष्टि गरेको बताउदै निर्वाचन आयोगको बर्तमान नेतृत्वले गराउने भनेएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव धाधली रहित हुने कुनै पनि आधार देखिदैन’, भन्नुभयो ।
उक्त पार्टीको सो बैठकले त्यस पार्टीले सञ्चालन गरिरहेको कार्ययोजनाको समीक्षा गर्दै थप सांगठनिक योजना बनाएको त्यसै पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीले बताउनुभयो । अलगपथसँग कुरा गर्दै उहाँले ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको यो बैठकले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य राजकुमार खत्रीलाई केन्द्रीय सचिवालय सदस्य र नेता कालिदास श्रेष्ठलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ’, भन्नुभयो । यो बैठकले नेपाल कम्युनिष्ट पार्टी सहितको संयुक्त रणनीतिक मोर्चालाई क्रियाशील बनाउन विशेष पहल गर्ने निर्णय गरेको उहाँको भनाई छ ।