काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टलले कमरेड पुष्पलालको विचारलाई नेपाल कम्युनिष्ट पार्टीले समृद्ध बनाउने काम गरिरहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समितिको आयोजनामा काठमाडौंको कपनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा कमरेड पुष्पलाल र नेपालको कम्युनिष्ट आन्दोलनको अबको कार्यभार विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले ‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना तथा नेपाल कम्युनिष्ट पार्टीको विचार र सिद्धान्त निर्माण गर्नुभयो’, भन्नुभयो । उहाँले यतिबेला कसैले कमरेड पुष्पलालले फोटो देखाएर व्यापार गरिरहेका , कसैले कमरेड पुष्पलालको फोटो बोकेर कमरेड पुष्पलालाई नै बद्नाम गरिरहेका र कसैले कमरेड पुष्पलालको फोटोलाई मागी खाने भाडो बनाएको भन्दै त्यसको विरोध गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी संसदवादको अन्त गर्दै नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा अगाडि बढिरहेको र त्यसका लागि संयुक्त जनसंघर्षको विकासका लागि प्रयत्न भइरहेको उहाँको भनाई छ । कमरेड पुष्पलालको नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उहाँमाथि पञ्यायती शासकका साथै कम्युनिष्ट आन्दोलन भित्रैका कतिपय मानिसहरुले उहाँको विरोध गरेको र एक पटक त उहाँको परिवारलाई समेत विरोधीहरुले प्रयोग गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्कीको आध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही पार्टीका केन्द्रीय सचिवालय सदस्यहरु रत्नप्रसाद जोशी , राजेश बान्तवा र कृष्णहरि भट्टले पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा पु-याएको योगदानको चर्चा गर्नुभएको थियो ।
वि.सं.१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिनु भएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको वि.सं.२०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित गोविन्द बल्लभ पन्त अस्पतालमा ५४ वर्षको उमेरमा निधन भएको थियो । शहीद गंगालालका माहिला भाइ पुष्पलालले वर्ग संघर्ष र जातीय भेदभावको विरुद्ध संघर्ष गर्ने क्रममा आफ्नो श्रेष्ठ थर हटाएर आफ्नो नाम पुष्पलाल मात्रै लेख्ने गर्नु भएको जानकारहरु बताउछन् । ।