चितवन/ चितवनको पर्सामा आजदेखि शुरु भएको विप्लव नेतृत्वको नेकपाको असन्तुष्ट समूहको भेलाले पार्टीको केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगरेको , केन्द्रीय समितिको निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा पार्टीका नेता कार्यकर्तालाई उम्मेद्वार बनाएको , राष्ट्रघाती एमसीसीका पक्षधर दलहरुसँग चुनावमा तालमेल गरेको लगायतका गलत कार्य अपदस्त महासचिव विप्लव र अपदस्त प्रवक्ता प्रकाण्डले गरेको गरेकोले नेत्रविक्रम चन्द ‘विप्लव’लाई महासचिव र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पार्टी प्रवक्ताबाट हटाएको जनाइएको छ । भेलाले सो पार्टीको संयोजकमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई चयन गरेको प्राप्त खबरमा उल्लेख छ । यतिबेला उक्त भेलामा सोही पार्टीको दस्तावेज माथि छलफल भइरहेको एक सहभागीले जनाएका छन् ।
गत हप्ता उक्त पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड पक्षीय नेताहरुले नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई कारवाही गरेको बताइएको थियो ।
यता सो पार्टीको असन्तुष्ट समूहको भेलाबाट अपदस्त महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा देशभक्त र वैज्ञानिक समाजवादी पक्षधर स्वतन्त्र उम्मेद्वारहरुलाई मतदान गर्न मतदाता समक्ष आग्रह गर्नु भएको छ ।