नेकपा (एस)ले ग-यो आफ्ना पार्टीका मन्त्री फेरबदल

काठमाडौं/ नेकपा (एस)ले बर्तमान ५ दलीय गठबन्धनको सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीहरुको फेरबदल गरेको जनाएको छ । सो पार्टीको आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले सरकारमा रहेका आफ्नो ४ जना मन्त्रीलाई फिर्ता बोलाएर थप ४ नेतालाई मन्त्री बनाउने निर्णय गरेको बताइएको छ ‌‌‌‌। बर्तमान देउवा नेतृत्वको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा , शहरी विकास मन्त्री रामकुमारी झाक्री , संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ , मेटमणि चौधरी , शेरबहादुर कुँवर र हीरा के.सी.लाई सरकारमा पठाउने र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने निर्णय गरेको सो पार्टीले जनाएको छ । सरकारमा पठाउने नयाँ मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको जनाइएको छ । उक्त पार्टीले सरकारमा पठाएका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री , मेटमणि चौधरीलाई शहरी विकास मन्त्री , शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हीरा के.सी. स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नु हुनेछ । नेकपा (एस)ले सरकारमा पठाएका सबै जना पुरुष मात्रै भएको भन्दै असन्तुष्टिका स्वर पनि सुनिएको छ ।

कतै गठबन्धनसँग मिलेर त कतै एकल उम्मेद्वार उठाएको सो पार्टीले गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिका र हेटौंडा उप-महानगरपालिकाको मेयर सहित २० पालिकाको मेयर/अध्यक्ष तथा २४ पालिकाको उप-मेयर/उपाध्यक्षका साथै ९०० भन्दा बढी जनप्रतिनिधि निर्वाचित भएका थिए । उक्त निर्वाचनमा गठबन्धनमा सहभागी अन्य दलबाट आफ्नो दलका उम्मेदवारहरुमाथि घात भएको सो पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताउदै आउनुभएको छ । उक्त पार्टीले स्थानीय तहको चुनावमा बेला देशभर भएका गतिविधि सहित समग्र पक्षको रिपोर्ट संकलन गर्न थालेको उक्त पार्टी श्रोतले जनाएको छ ।

Leave a Reply