नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुले ७३ वर्षको नेपालको कम्युनिष्ट आन्दोलनको सही ढंगबाट सिंहालोकन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढ्नुपर्छ’, भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा स्थापना भएको आज ७३ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष कट्टेलले पूँजीवादीहरुले आफ्नो स्वार्थपूर्तिका लागि डिजाइन गरेको बर्तमान संसदीय व्यवस्थाबाट उत्पीडित वर्ग र समुदायको मुक्ति सम्भव नभएकोले अब नयाँ शिराबाट नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अगाडि बढाउनुको विकल्प नरहेको र यसको जिम्मेवारी कम्युनिष्ट क्रान्तिकारीहरुको काधमा आएको बताउनुभयो ।

सन् १९४९ अप्रिल २२ तारेकका दिन भारतको कलकत्ताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्मचार्य , निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी भएर पुष्पलालको नेतृत्वमा नरबहादुर कर्मचार्य , निरञ्जन गोविन्द वैद्य , नारायण विलाश जोशी र मोतिदेवी (दुर्गादेवी) श्रेष्ठ सदस्य रहेको तदर्थ समिति बनाएर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने अभियान थालेपनि सन् १९४९ सेप्टेम्बर १५ तारेक तदानुसार वि.सं.२००६ साल भदौ ३० गते विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको घोषणा गरिएको थियो । यही कारण नेपाल कम्युनिष्ट पार्टीले सेप्टेम्बर १५ तारेक अर्थात भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउदै आएको छ र आज विशेष कार्यक्रम गरी सो पार्टीले पार्टी स्थापना दिवस मनाउदै गरेको जनाइएको छ । गत पुस १७-१९ गते जनकपुरमा सम्पन्न आफ्नो एकताको दोश्रो राष्ट्रिय सम्मेलनबाट पारित गरेको ‘“क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गरौँ ! संसदवाद तथा विसर्जनवादलाई परास्त गरी नयाँजनवादी गणतन्त्र स्थापना गर्न संयुक्त जनसंघर्षको विकास गरौ !!” नारालाई सार्थक बनाउने बाटोमा अगाडि बढिरहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले हामीले हाम्रो पार्टीको स्थापन दिवस सेप्टेम्बर १५ तारेकमा मनाएपनि सन १९४९ अप्रिल २२ तारेकलाई पनि ऐतिहासिक दिनको रुपमा सम्मान गरिरहेको बताउनुभएको छ ।

यता नेकपा (एमाले) , नेकपा (माके) , नेकपा (एस) , नेकपा (माले) लगायतले भने अप्रिल २२ तारेकका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउदै आएका छन् । उता नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस कमरेड पुष्पलाल जीवित रहदासम्म सेप्टेम्बर १५ तारेकमै मनाउने गरिएको थियो तर २०३५ साल साउन ७ गते पुष्पलालको निधन भएपछि मात्रै अप्रिल २२ तारेकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन थालिएको नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले रातो तारामा उल्लेख गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *