नेपाली कांग्रेसका नेता प्रदीप गिरीको सम्मानमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

गत शनिबार साझ उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको सम्मानमा आज बसेको प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पारित भएको जनाइएको छ ‌। नेता गिरीको निधनमा शोक प्रकट गर्दै आइतबार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो उता सिराहाको लहान नगरपालिकाले पनि उहाँप्रति शोक प्रकट गरी आईतबार सार्वजनिक बिदा दिएको थियो भने उहाँको गाउँबस्तीपुरबासीहरुले पनि शोक मनाएका थिए ।

यता नेपाली कांग्रेसले नेता गिरीप्रति शोक प्रकट गरी उहाँको सम्मानमा तीन दिनसम्म केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयमा नेपाली कांग्रेसको झण्डा आधा झुकाउने निर्णय बमोजिम सो झण्डा आधा झुकाएको छ । त्यसैगरी उहाँको योगदानको बारेमा बिभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा आइतबार अपरान्ह नेता गिरीको पार्थिव शरीर काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । पशुपति आर्यघाटमा पुगेर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दल नेता खड्गप्रसाद शर्मा ओली लगायतले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । नेता गिरीको पार्थिव शरीरमा सन्तोष सिलवाल गिरीले दागबत्ती दिनुभएको थियो ।

नेता गिरीको पार्थिव शरीर अन्तेष्टी गर्नु अगाडि उहाँको पार्थिव शरीरलाई विहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल परिसरमा र त्यसपछि दिउसो २ बजेसम्म सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यस अवसरमा उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस तथा उसका भातृ तथा सुभेच्छुक संघ संस्थाका नेता कार्यकर्ता , नेकपा (माके)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल सहित बिभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरु , सांसदहरु लगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । उहाँको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा उप-राष्ट्रपति नन्दबहादुर पुन , भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका नेता सीताराम यचुरी तथा विहारका मुख्यमन्त्री नितिश कुमार लगायतले विज्ञप्ति प्रकाशित गरी शोक व्यक्त गर्नु भएको थियो ।

भारतको समाजवादी आन्दोलनमा समेत लामो समय रहेर कार्य गरेका नेता गिरी नेपाली कांग्रेसमा सानै उमेरदेखि क्रियाशील रहेको बताइन्छ । प्रखर विद्वान तथा लोकतन्त्र र समाजवादी चिन्तक रहेका नेता गिरी नेपाली राजनीतिक परिवर्तनमा महत्वपूर्ण रहेको कतिपय जानकारहरुको भनाई छ । कतिपय मानिसहरुले भने नेता गिरीको चिन्तन समाजबादी बाटो छाडेको नेपाली कांग्रेसका लागि नेता गिरीको विचार र चिन्तन बर्तमानका लागि भन्दापनि इतिहासका लागि उपर्युक्त हुने बताएका छन् ।

Leave a Reply