नेपाली कांग्रेसको महामन्त्रीमा शर्मा र थापाको जीतले युवाहरु उत्साहित

काठमाडौं / नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सो पार्टीको महामन्त्री पदमा विश्वप्रकाश शर्मा र गगन थापा अरु ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएसँगै नेपाली कांग्रेस भित्रका युवाहरुमा उत्साह छाएको देखिएको छ । महामन्त्री पदमा खसेको कुल ४,६६९ मत मध्ये शर्माले १,९६४ र थापाले ३,०२३ मत प्राप्त गर्नुभयो । यस्तै महामन्त्री पदका अन्य उम्मेद्वारहरु प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत प्राप्त गर्नुभयो । महामन्त्रीमा निर्वाचित शर्मा र थापा दुबै जना ने.वि. संघको नेता हुदै नेपाली काँग्रेसको राजनीतिमा उदाउनु भएको थियो । यस अघि नेपाली कांग्रेसको प्रवक्ता रहेका शर्मा ने.वि. संघको अध्यक्ष हुनुभयो तर उहाँ राज्यको सार्वजनिक पदमा भने पुग्नु भएको छैन । युवा तथा बुद्धिजीवीहरु माझ लोकप्रिय रहेका शर्मा २०७० को संविधान सभा र २०७४ सालमा भएको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा निर्वाचनमा झापा जिल्ला, क्षेत्र नं.१ मा नेपाली कांग्रेसको उम्मेद्वार बनेपनि पराजीत हुनुभयो । शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री पदमा उम्मेद्वारी बन्नुभएको थियो । महामन्त्री पदमा निर्वाचित भएपछि शर्माले नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने बताउनु भएको छ ।

यता ने.वि. संघको महामन्त्री हुदै नेपाली कांग्रेसको राजनीतिमा उदाएका थापा २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिकबाट र २०७० सालमा भएको संविधान सभा निर्वाचन र २०७४ सालमा सम्पन्न संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं जिल्ला क्षेत्र नं.४ बाट निर्वाचित सांसद हुनुभयो । नेपाली कांग्रेस भित्र विशेष गरी युवाहरु माझ लोकप्रिय थापा नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुदा प्रचण्डको नेतृत्वको सरकारमा थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नु भएको थियो । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्री बनेका थापा त्यसबेला भने ५ सय हाराहारी मत प्राप्त गरी पराजीत हुनु भएको थियो । शेखर कोइराला प्यानलबाट महामन्त्री पदको उम्मेद्वार बनेका थापाले यसबेलासम्म घोषणा भएको सभापति , उप-सभपति र महामन्त्री पदका उम्मेद्वारहरु मध्ये सबै भन्दा बढी मत पाउनु भएको छ । प्रतिगमन विरोधी आन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाउने नेपाली काग्रेसका युवाहरुमा मध्ये एक हुनुहुन्थ्यो थापा ।

देउवाको प्यानलको तर्फबाट महामन्त्री पदका उम्मेद्वारद्वय प्रकाश शरण महत र प्रदीप पौडेल क्रमश: तेस्रो र चौथो हुनुभयो भने कोइराला प्यानलका मिनेन्द्र रिजाल पाँचौं तथा राजाराम कार्की छैटौं हुनुभयो । महामन्त्री पदमा आफू पराजीत भएपनि प्रदीप पौडेलले निर्वाचित महामन्त्रीद्वय शर्मा र थापालाई भेटेरै बधाई दिनुभयो ।

यसैगरी आज बिहान घोषणा भएको सो पार्टीको उप-सभापति पदमा देउवा प्यानलका पूर्णबहादुर खड्काले २,१२१ र कोइराला प्यानलका धनराज गुरुङ १,९०८ मत प्राप्त गरी विजयी हुनुभयो । देउवा प्यानलका उप-सभापति पदका उम्मेद्वार विजयकुमार गच्छेदारले १,९०६ , कोइराला प्यानलका चन्द्र भण्डारीले १,५८०, सिंह प्यानलकी सुजता कोइरालाले ६४४, स्वतन्त्र उम्मेद्वार महेश आचार्यले ५८९ र निधि प्यानलकी दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नु भएको थियो ।

महामन्त्री पदमा पराजीत रिजालको रक्षा मन्त्री पदबाट राजिनामा घोषणा

नेपाली काँगेसको महामन्त्री पदमा पराजित बनेपछि डा. मिनेन्द्र रिजालले रक्षा मन्त्री पदबाट राजिनामा दिएको बताउनु भएको छ । कोइराला प्यानलबाट महामन्त्री पदको उम्मेद्वार बनेका रिजालले पार्टी भित्र आफ्नो पक्षमा मातदाताको बाक्लो समर्थन नभएकाले आफूले मन्त्री पदबाट राजिनामा दिने र राजनीतिबाट आफू पनि टाढा रहने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *