नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कीर्तिपुर नगरपालिका-२ , मैत्रीनगरमा रहेको आफ्नै कार्यालय भवनमा आजबाट शुरु भएको जनाइएको छ । शहीदहरुप्रति मौनधारण गरि शुरु भएको उक्त बैठकको अध्यक्षता गर्दै सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले उक्त पार्टीको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका हरिप्रसाद घिमिरे र गंगाराम अधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । बैठकमा अध्यक्ष कट्टेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आउदो भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको हिरक महोत्सव समापन सभा गर्ने , आगामी फाल्गुणमा सो पार्टीको राष्ट्रिय सम्मेलन गर्ने, पुष्पलाल विचार प्रवर्द्धन केन्द्र मार्फत नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका विचारलाई जनता बीच लैजाने लगायतका प्रस्ताव गर्नुभएको बताइएको छ ।
बैठकमा अध्यक्ष कट्टेलले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सचिवालय सदस्यहरु खेमनारायण ढुंंगाना, राजेश बान्तवा, डा.भगवानचन्द्र ज्ञवाली, राजकुमार थापा तथा केन्द्रीय सदस्यहरु भीम न्यौपाने, विष्णु बराल, अनिल भण्डारी , माननाथ तिमिल्सिना, रचना शर्मा, मनिष भट्टराई लगायतले आ-आफ्नो धारणा राख्नुभएको र बाँकीले भोलि बस्ने केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने सोही पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले बताउनुभयो ।