काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक २०७८ फागुन ३ गते मंगलबार विहान ११ बजे सोही पार्टीको केन्द्रीय कार्यालय ,कपन , काठमाडौंमा बस्ने भएको छ । गत पुस १७ देखि १९ गतेसम्म जनकपुरधाममा एकताको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि यो पहिलो बैठक बस्न लागेको हो । बैठकमा उपस्थितिको लागि केन्द्रीय सचिवालयमा रहेका सबैलाई जानकारी गरिएको उक्त पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशी निलम्वनमा परेकाले हाल त्यस पार्टीको केन्द्रीय सचिवालयमा अध्यक्ष ऋषि कट्टेल, उपाध्यक्ष लोकनारायण सुवेदी सहित १३ जना सदस्य छन् ।
सो बैठकमा पार्टीको केन्द्रीय समितिको बैठक आह्वान , जनकपुरधाममा सम्पन्न एकताको दोश्रो राष्ट्रिय सम्मेलनबाट पारित दस्तावेजहरुलाई अन्तिम रुप दिने बारे तथा एमसीसी(MCC) सम्झौता विरोधी नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले गर्दै आएको संयुक्त संघर्ष लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस पार्टीले छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हन आह्वान गरेको त्यसै पार्टीका केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले अलगपथलाई बताउनुभयो ।