राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्नु भएको छ । सो अवसरमा उहाँले संघीय संसदमा तटस्थ रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । आफू राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएसँगै नेकपा (माके)को सम्पूर्ण पदीय जिम्मेवारीबाट मुक्त भई स्वतन्त्र बनेको उहाँको भनाई छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्निप्रसाद सापकोटा सहित संवैधानिक निकायकाक्षप्रमुखहरु लगायतको उपस्थितिमा राष्ट्रपति भवन ,शीतल निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सोही सभाकी नवनिर्वाचित उपाध्यक्ष अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो ।
सोमबार राष्ट्रिय सभाको बैठकबाट औपचारिक रुपमा अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष चयन हुनुभएको थियो । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पूर्व मन्त्री समेत रहेकी नेकपा (माके) स्थायी समिति सदस्य अर्यालको मात्रै राष्ट्रिय सभाको उपिध्यक्ष पदमा उम्मेद्वारी मनोनयन भएको थियो ।





