प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा ५० जनाको लावालस्कर सहित आज दिउसो तीन दिने भारत भ्रमणमा जानु भएको छ । उहाँको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएको थियो । प्रधानमन्त्री देउवाले आजै भारतीय विदेश मन्त्री एस. जयशंकर लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भोलि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोलि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले जनकपुर-जयनगर रेलको स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनपछि रेल यात्रु लिएर जनकपुर-जयनगर ओहोरदोहोर गर्ने छन् ।

प्रधानमन्त्री देउवाको यो भ्रमण क्रममा उर्जा, व्यापार, पर्यटन लगायतका विषयमा सम्झौता हुने बताइएको छ । यस भ्रमणका क्रममा सन १९५० को नेपाल-भारत मैत्री तथा शान्ति सम्झौताको पुनरावलोकन समेत हुने समाचार श्रोतको छ ।

गत जनवरीमा नै प्रधानमन्त्री देउवाको भारत भ्रमण तय भएपनि कोरोना संक्रमण दर बढेकाले त्यसबेला सो भ्रमण स्थगित भएको बताइएको थियो ।

संसदबाट नेपालको नयाँ नक्सा जारी गर्ने र एमसीसी(MCC) सम्झौता पारित गर्ने निर्णय भएपछिको प्रधानमन्त्री देउवाको यो भ्रमण नेपालको प्रधानमन्त्री स्तरको यो पहिलो भारत भ्रमण भएकोले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।

……………………………………………………………………..

.

……………………………………………………………………..

Leave a Reply