बागमती प्रदेशको ११ सदस्यीय मन्त्रीपरिषदमा एक जना मात्रै महिला मन्त्री बन्नुभएको छ भने सो मन्त्रीपरिषदमा दलितको प्रतिनिथित्व भएको छैन । नेकपा (माके)का नेता समेत रहेका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बुधबार सोही प्रदेशकी पूर्व मन्त्री समेत रहेकी नेकपा (माके)की बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिनुभएको छ । मुख्यमन्त्री जम्मरकट्टेलको सिफारिसमा बुधबार विस्तार भएको मन्त्रीपरिषदका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गराई मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी तोक्नु भएको थियो , जस अनुसार सामाजिक विकास मन्त्री मोक्तानसँगै नेकपा (माके)को चुनाव चिन्हबाट बागमती प्रदेश सदस्य पदमा चुनाव जितेका नेसपाका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन , नेकपा (एमाले)का बागमती प्रदेश सभा दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना , सोही पार्टीका रामेश्वर श्रेष्ठ स्वास्थ्य , एकलाल श्रेष्ठ श्रम , रोजगार तथा यातायात , केशवप्रसाद पोखरेल कृषि तथा पशुपञ्छी विकास , नेकपा (माके)का युवराज दुलाल भौतिक पूर्वाधार विकास तथा राप्रपाका डम्बर तामाङ पर्यटन , उद्योग तथा सहकारी , उद्वव थापा खानेपानी , उर्जा तथा सिञ्चाई र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।





