आज विश्वासको मत लिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मरकट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सम्बन्धित प्रदेश सभाबाट विश्वासको मत लिनु अगावै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । पदबाट राजीनामा दिनु अघि बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेल बागमती प्रदेश सभामा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्द राजीनामा दिने घोषणा गर्नुभएको थियो । नेकपा (एमाले)ले दुबै प्रदेश सभाबाट मुख्यमन्त्रीद्वय जम्मरकट्टेल र महरालाई दिएको समर्थन फिर्ता लिएपछि दुबै प्रदेश सरकार अल्पमतमा परेका थिए । सम्बन्धित प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्रीद्वय जम्मरकट्टेल र महराले पदबाट राजीनामा दिएको बताइएको छ । १८ महिना मुख्यमन्त्री बनेर बागमती प्रदेश सरकारको नेतृत्व गरेका जम्मरकट्टेलले अरुसँग गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा भएकोले अब त्यस्तो गल्ती नगर्ने बताउनुभयो भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले काम चलाउ सरकारमा एकछिनपनि बस्ने आफ्नो इच्छा नभएकोले जतिसक्तो चाडो नयाँ सरकार बनाउन आग्रह गर्नुभयो ।
बागमतीमा बहादुर र लुम्बिनीमा लीला मुख्यमन्त्री
नेपाली कांग्रेस र नेकपा (एमाले)ले बागमती प्रदेशमा नेपाली कांग्रेसका बागमती प्रदेश सभा दलका नेता बहादुर सिंह तामाङ र लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का लुम्बिनी प्रदेश सभा दलका नेता लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेको बताइएको छ । २०७४ सालयता पहिलो पटक नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री पाएको छ ।