भक्तपुर/ गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा नगरपालिका रहेको भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको प्रमुख र उप-प्रमुख दुबै पदमा पुरुष उम्मेद्वार विजयी भएका छन् । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री र उप-प्रमुखमा नेकपा (एमाले)का रमेश बुढाथोकी तथा मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उप-प्रमुख गठबन्धनकै तर्फबाट नेकपा (माके) का विजयकुमार श्रेष्ठ निर्वाचित हुनभयो । जसबाट पालिकाको प्रमुख र उप-प्रमुख मध्ये एक पदमा महिला हुनुपर्ने कानुनी व्यवस्था भएपनि त्यसप्रति राजनीतिक दलहरु गम्भिर नबन्दा ती दुई वटै नगरपालिकामा दुबै पदमा पुरुष उम्मेद्वार निर्वाचित हुनुभयो । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाको प्रमुख र उप-प्रमुखमा भने नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापती र रजनी जोशी तथा सूर्यविनायक नगरपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा (एमाले)का वाशुदेव थापा र सरिता भट्टराई (तिमिल्सिना) विजयी हुनुभयो ।
यस पटकको निर्वाचंनमा भक्तपुरमा नेकपा (एमाले) यस अगाडि जितेको चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको प्रमुख गुमाएर सूर्यविनायक नगरपालिकाको प्रमुख र उप-प्रमुख तथा चाँगुनारायण नगरपालिकाको उप-प्रमुखमा सिमित भएको छ भने नेपाली कांग्रेसले पनि मध्यपुर थिमि नगरपालिकाको उप-प्रमुख गुमाएको छ । यस पटक नेपाली कांग्रेसले मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रमुख तथा नेकपा (माके)ले मध्यपुर थिमि नगरपालिकाको उप-प्रमुख जितेका छन् ।
(कान्तिपुर दैनिकको सहयोगमा )