काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा २५६६औं बुद्धजयन्तीको अवसरमा आज ६ घण्टाका लागि लुम्बिनी आउदै हुनुहुन्छ । शान्तिका अग्रदूत गौतम बुद्धको निधन भएको स्थान भारतको कुशिनगरबाट भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरमा उनै बुद्धको जन्मस्थल लुम्बिनीमा आउने कार्यक्रम रहेको जनाइएको छ । उहाँले लुम्बिनीको अवलोकन गर्नुका साथै मायादेवी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । आजै भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिवा भोजको आयोजना गर्ने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण बुद्ध जन्मस्थलमा अवलोकन र दर्शनका लागि बताइएपनि नेपाल र भारतीय अधिकारी बीच केही सम्झौता समेत गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ । त्यसमा अपर कर्णाली तथा पश्चिम सेती परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने लगायतका विषयमा सम्झौता हुने समाचार स्रोतले जनाएको छ । गत हप्ता प्रधानमन्त्री देउवाले डडेलधुरामा दिएको अभिव्यक्तिले पश्चिम सेती परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने संकेत गरेको जानकारहरु बताउछन् ।
स्थानीयबासीहरुको विरोधका बाबजुद नेपाल सरकारले भारतीय कम्पनी जीएमारलाई अपर कर्णाली परियोजनाको दिएपनि उसले लामो समयदेखि सो परियोजना ओगटेर मात्रै राखेको छ । त्यसमा सामान्य प्रगति भने नभएको जानकारहरुको भनाई छ । यसपटक पनि जीएमआर कम्पनिलाई उक्त परियोजनाको पुन: समयाबधि थप गर्ने र लामो समयदेखि अलपत्र पश्चिम सेती परियोजनाको जिम्मा भारतीय कम्पनीलाई दिने गरी सम्झौता गर्ने तयारी भइरहेको समाचार स्रोतको भनाई छ ।
यता नेपाल र भारत बीचको वर्षौंदेखि थाती रहेका सीमा लगायतका समस्याको समाधान गर्ने बारेमा भने कुनै प्रगति हुन सकेको छैन ।
बुद्ध सर्किट बनाउनु पर्ने आवाज
नेपाल र भारतका गौतम बुद्धसँग जोडिएका स्थानहरुलाई जोडेर बुद्ध सर्किट बनाई पर्यटन प्रवर्द्धन गर्नु पर्ने आवाज उठिरहेको छ । यसमा बुदृधको जन्मस्थल लुम्बिनीदेखि उनी हुर्केको कपिलबस्तुको तिलौराकोट, उनको मावली कोलिया गणराज्यको देवदह , सो गणराज्यको राजधानी रामग्राम , बुद्धले ज्ञान आर्जन गरेका र ज्ञान बाडेका नेपाल र भारतका विभिन्न स्थलहरु सहित उनले बुद्धत्व प्राप्त गरेको भारतको गया र उनको निधन भएको भारतको कुशिनगर सहितका उनीसँग जोडिएका स्थललाई बुद्ध सर्किटमा जोड्नु पर्ने सरोकारवालाहरुको जोड छ । यो आवाजलाई नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने संकेत गरेका छन् तर त्यसबारे ठोस कार्य भने हुन सकेको छैन । लुम्बिनी संसारभरका बौद्धमार्गीहरुको पवित्र स्थल हो ।