काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीले सो पार्टीबाट निस्कासित लोकनारायण सुवेदीको नाम र हस्ताक्षरमा गत पुसमा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनलाई पूर्णता दिने भन्दै यही चैत्र ११ र १२ गते सम्मेलन गर्न लागेको भन्ने सूचना सामाजिक सञ्जाल मार्फत जानकारीमा आएकोले त्यसको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीद्वारा हस्ताक्षर भई मंगलबार जारी भएको प्रेस विज्ञप्तिमा पार्टी विरोधी कृयाकलापमा सम्लग्न तत्वहरुलाई परास्त गर्न सबै कमरेडहरुलाई सचेत रहन आग्रह गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन २०७८ भदौ ३० गते भर्चुअल माध्यमबाट उद्घाटन भई २०७८ पुस १७ देखि १९ गतेसम्म जनकपुरधाममा “क्रान्तिकारी कम्युनिष्टहरूलाई एकतावद्ध गरौं ! संसदवाद तथा विसर्जनवादलाई परास्त गरी नयाँँ जनवादी गणतन्त्र स्थापना गर्न संयुक्त जन संघर्षको विकास गरौैं !” भन्ने मूल नाराका साथ सम्पन्न भई पुन: ऋषि कट्टेलको अध्यक्षतामा ७५ सदस्यसम्म रहन सक्ने गरी तत्काललाई ५१ सदस्यीय केन्द्रीय समिति चयन गरी सम्पन्न भएको थियो । सो सम्मेलन र त्यसपछि गुटगत बैठक र भेला जस्ता पार्टी हित विपरीत कृयाकलाप गरेको ठहर गर्द गत फागुन २१ र २२ गते काठमाडौंमा बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले त्यस पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी तथा केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई पार्टीबाट निस्कासन गरेको थियो ।
