काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समितिले आकाशिएको महङ्गी , दैनिक उपभोग्य बस्तुमा बढिरहेको कालाबजारी र कृतिम अभाल नियन्त्रण गरी जनजीवनलाई सहज बनाउन सरकारसँग माग गरेको छ । शनिबार ललितपुरको लगनखेलमा बसेको सो समितिको बैठकले उक्त निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । सोही पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय राजेश बान्तवा र कृष्णहरि भट्टको आतिथ्यता रहेको उक्त बैठकले पार्टीको संगठन सुदृढीकरण र सुद्धिकरणलाई अभियानको रुपमा अगाडि बढाउने र मातहत समितिलाई थप सुदृढ बनाउने कार्य योजना पारित गरेको बताइएको । त्यसै समितिका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा बसेको सो बैठकले त्यसै समितिको सचिवमा राजकुमार थापा र आर्थिक विभाग प्रमुखमा केशव थापालाई चयन गर्नुका साथै उक्त प्रदेशको पिपुल्स फोर्सको प्रमुखमा निलगगन, अखिल नेपाल महिला यूनियनको बागमती प्रदेश प्रमुखमा शारदा श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियनको बागमती प्रदेश प्रमुख तथा रसुवा, धादिङ र नुवाकोटको पार्टी कामलाई समेत संयोजन गर्ने जिम्मेवारी सहित काठमाडौंको इञ्चार्जमा सानो यामबहादुर थापा, अखिल नेपाल सांस्कृतिक यूनियनको बागमती प्रदेश प्रमुखमा रचना शर्मा र काठमाडौं जिल्लाको पार्टी कामको संयोजनको जिम्मेवारी भवानी के.सी.लाई दिने निर्णय गरेको र थप छलफल गरी बाँकी जिम्मेवारी पछि बाँडफाड गर्ने निर्णय गरेको जनाइएको छ । अतिथिद्वय बान्तवाले संगठनात्मक सिद्धान्त र भट्टले संगठानात्मक कार्यदिशाको बारेमा बैठकमा प्रशिक्षाणात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो भने त्यस बैठकले एमसीसी(MCC) सम्झौता विरोधी ६ दल र २ मोर्चाले अगाडि बढाइरहेको आन्दोलनलाई थप शसक्त बनाउन माग गरेको त्यसै समितिका सचिव राजकुमार थापाले अलगपथलाई बताउनुभयो । बैठकले ‘स्वदेशमा उत्पादित बस्तुको उपभोग गरौं, स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशामा अगाडि बढौं‘ भन्ने नारालाई अभियानको रुपमा अगाडि बढाउने निर्णय गरेको उक्त समितिका अध्यक्ष कार्कीको भनाई छ ।